Harsamaya

काठमाडौं - नेपालकी पहिलो महिला महान्यायाधिवक्ता सविता भण्डारीले ‘न्यायपालिका : अस्तित्व रक्षाको सवाल’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै न्यायपालिका, सुशासन र युवा आन्दोलनका विषयमा धारणा व्यक्त गरेकी छिन् ।

महान्यायाधिवक्ता भण्डारीले हालको ‘जेनजी आन्दोलन’लाई समर्थन जनाउँदै, ती आन्दोलनकारीहरुले व्यक्तिगत फाइदाका लागि नभैइ, देशको हितका लागि आवाज उठाएको स्पष्ट पारिन् ।

उनले भनिन्, ‘जेनजी आन्दोलन देशमा सुशासन होस्, विदेश जान कसैलाई नपरोस्, भ्रष्टाचार अन्त्य होस् भनेर भएको हो । त्यसैको प्रतिफलस्वरूप अहिले देशमा नयाँ परिवर्तनको संकेत देखिएको छ ।’

उनका अनुसार आन्दोलनकारीहरुले आफ्ना लागि होइन, सम्पूर्ण देशका लागि आवाज उठाएका थिए । तर आन्दोलनकै क्रममा सर्वोच्च अदालत जलाइएको घटनालाई उनले गम्भीर रूपमा लिएकी छन् । उनले भनिन्, ‘जब सर्वोच्च अदालतमा आगजनी भयो, केही युवा पुस्ता भने त्यसलाई जोगाउन अघि सरेका थिए ।’

भण्डारीले युवा पुस्ताको सक्रियताको प्रशंसा गर्दै भनिन्, ‘आन्दोलनपछि युवाहरु आफैँ सडक सरसफाइ र ट्राफिक व्यवस्थापनमा समेत जुटे । यदि हामीले उनीहरुसँग अलिकति हातेमालो गरौं भने र उनीहरुले चाहेका कुरा दिन सक्यौं भने, आन्दोलनमा ज्यान गुमाउनेप्रति सबैभन्दा ठूलो श्रद्धाञ्जली त्यो नै हुनेछ ।’

उनले आन्दोलनका नाममा भएका केही हिंसात्मक घटनाप्रति चिन्ता व्यक्त गरिन् । उनले भनिन्, ‘जेनजी आन्दोलनकारीहरुले संरचना जलाएको मलाई लाग्दैन। त्यो बेला जेलहरू तोडिएपछि केही अपराधी समूहहरु सक्रिय भएका थिए, जसले अदालत र सरकारी वकिल कार्यालयमा आक्रमण गरे ।’

महान्यायाधिवक्ताका अनुसार हालसम्म २५ वटा सरकारी कार्यालयहरू आगजनीमा परेका छन् । कार्यक्रममा उनले राज्य संयन्त्रले आन्दोलन र हिंसा बीचको भिन्नता चिन्नुपर्नेमा जोड दिइन् र न्यायपालिकाको अस्तित्व रक्षा सबैको साझा जिम्मेवारी भएको उल्लेख गरिन् ।

प्रकाशित मिति: आइतबार, असोज ५, २०८२  १८:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update