Harsamaya
आन्दोलनपछि मुख्यमन्त्री बानियाँ पहिलो पटक सार्वजनिक, क्षतिग्रस्त संरचनाको निरीक्षण

मकवानपुर - जेनजी आन्दोलनको नौ दिनपछि बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ पहिलो पटक सार्वजनिक रूपमा देखिएका छन् ।

गत भदौ २३ र २४ गतेको आन्दोलनपछि सुरक्षा कारण घरभित्र सीमित रहेका मुख्यमन्त्री बानियाँ बिहीबार तोडफोड र आगजनीबाट क्षतिग्रस्त प्रदेशका सरकारी तथा निजी संरचनाको निरीक्षणका लागि हेटौँडामा देखा परेका हुन् ।

मुख्यमन्त्री बानियाँले प्रदेशसभा सचिवालय, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य मन्त्रालय, सहकारी तथा गरिबी निवारण मन्त्रालय, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, भाटभटेनी सुपर स्टोर लगायतका सरकारी तथा निजी निकायको अवलोकन गरेका थिए ।

आन्दोलनका क्रममा उनका निजी चार वटा घर र व्यवसाय प्रतिष्ठानमा क्षति पुगेपछि केही समय आन्तरिक व्यवस्थापनमा समय दिएका मुख्यमन्त्री बानियाँ मंगलबारदेखि पुनः सक्रिय भएका हुन् । उनले यसबिचमा काठमाडौँमा बसेर मन्त्री, सांसद र पार्टीका नेताहरूसँग छलफल गर्दै क्षति व्यवस्थापनका उपायबारे निर्देशन दिएका थिए ।

निरीक्षणका क्रममा मुख्यमन्त्री बानियाँले जेनजी आन्दोलनलाई गणतन्त्र र संघीयता विरोधी तत्त्वहरूले हिंसात्मक रूपमा मोडेको दाबी गर्दै, ‘यति ठूलो क्षति हुँदाहुँदै पनि हाम्रो संविधान र लोकतान्त्रिक प्रणाली सुरक्षित छ,’उनले भने ।

उनले तत्काल प्रदेश सरकारको सेवा प्रवाह र प्रशासनिक कामकाज प्रभावित नहोस् भनेर वैकल्पिक व्यवस्था खोजी भइरहेको बताए । ‘सरकारी मात्र होइन, निजी संरचनामा भएको क्षतिको पनि मूल्याङ्कन गरेर आवश्यक कदम चालिन्छ,’ मुख्यमन्त्री बानियाँले भने ।

सभामुखको राजीनामासहित कानुनी र प्रशासनिक विषयहरू प्रक्रियागत ढङ्गले समाधान हुने उनको भनाइ छ । ‘जुन संरचना छिटो तयार गर्न सकिन्छ, त्यसलाई प्राथमिकता दिएर सरकार काम अघि बढाउँछ,’ उनले जोड दिए ।

मुख्यमन्त्री बानियाँको यो सार्वजनिक अवलोकनलाई सरकार क्षति व्यवस्थापन र स्थायित्वतर्फ लागिपरेको सङ्केतको रूपमा लिइएको छ ।

प्रकाशित मिति: शुक्रबार, असोज ३, २०८२  ०७:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update