Harsamaya
आजदेखि शेयर बजार नियमित रूपमा सञ्चालनमा आउँदै

काठमाडौं - जेनजी आन्दोलनका कारण गत भदौ २४ गतेदेखि बन्द रहेको शेयर बजार आजदेखि पुनः नियमित रूपमा सञ्चालनमा आउने भएको छ । नेपाल धितो पत्र बोर्डले भदौ ३१ गते जारी गरेको निर्देशनअनुसार नेप्सेले आजदेखि नियमित कारोबार सुचारु गर्ने जनाएको हो । 

यसअघि बोर्डले असोज १ गतेदेखि बजार सुचारु गर्न निर्देशन दिएको भए पनि उक्त दिन सरकारले जेनजी आन्दोलनका सहिदहरूको सम्मानका लागि राष्ट्रिय शोक दिवस घोषणा गरेकाले कारोबार हुन सकेन । त्यसैले आजबाट बजार सञ्चालनमा आउने भएको हो ।  गत भदौ २३ गते अन्तिम पटक शेयर कारोबार भएको थियो, उक्त दिन नेप्से परिसूचक १.३२ प्रतिशत अर्थात् ३५.९९ अङ्क गिरेर २,६७२.२५ विन्दु मा बन्द भएको थियो ।

बजार बन्द भएको लामो समयपछि कारोबार खुल्दा लगानीकर्तामा उत्साह देखिएको छ । धेरैले शेयर बजार खुल्नुपर्ने भन्दै दबाब समेत दिएका थिए । तर, लगानीकर्ताहरूमा उतिकै अन्योल पनि छ । बजार फेरि घट्ने त होइन भन्ने डर, प्रायः नवीन र साना लगानीकर्तामा बढी देखिएको छ । बजार बन्द हुँदा ठूला–साना सबै किसिमका  लगानीकर्ताहरूलाई आर्थिक घाटा भएको छ । विशेष गरी नियमित रूपमा कारोबार गर्ने ट्रेडरहरु यसबाट प्रभावित भएका छन् ।

प्रकाशित मिति: बिहीबार, असोज २, २०८२  ०९:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update