
काठमाडौं - गत भाद्र २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा खिचिएका भिडियोहरुमा अधिकांश राष्ट्रिय गीतहरुले महत्वपूर्ण स्थान पाएका छन् ।
सामाजिक सञ्जालहरुमा विशेषगरी काठमाडौं महानगरपालिका प्रमुख बालेन शाह र गायक सुजन चापागाईँले गाएको गीतहरुले बढी स्थान पाएका छन् । जसमा टिकटकमा, बालेन शाहले गाएको गीत ‘म नेपाल हाँसेको हेर्न चाहान्छु’बोलको गीत र गायक ‘सुजन चापागाईँको ‘आँशुको भारी’ बोलको गीत अत्यधिक रुचाइएको छ ।
जेनजी आन्दोलनमा देखिएका भावुक भिडियोहरुमा ‘आँशुको भारी’ र जोशिला भिडियोहरुमा ‘म नेपाल हाँसेको हेर्न चाहान्छु’ गीत प्रयोग भएका छन् ।
केही समय अघि युट्युवमा दुर्गेस थापाका गीतहरुले राम्रो भ्युजहरु कमाइरहेका थिए भने एक्कासि जेनजी आन्दोलन हुँदा पुराना देशभक्ति गीतहरुले स्थान पाइरहेका छन् ।
किन अत्यधिक प्रयोग भयो ‘नेपाल हाँसेको’गीत ?
‘नेपाल हाँसेको ’बोलको गीत नेपाली चलचित्र लाज शरणमको प्रोमोशन गीत हो । जसमा मेयर साहले आफ्नो स्वर दिएका छन् ,त्यसकारणले पनि यो गीतले अत्याधिक चर्चा बटुलिसकेको छ ।
जेनजीहरुको आन्दोलनको मुख्य एजेण्डा भनेको नै भ्रष्टाचार हटाउनु हो । यस गीतमा पनि देशमा भएको भ्रष्टाचार र वेथितिको वर्तमान अवस्था को चित्रण गर्नुकासाथै त्यसको विरुद्धमा आवाज उठाइएको छ । त्यसकारण पनि टिकटकमा राखिएका आन्दोलनको अधिकांश भिडियोहरुमा यो गीतको प्रयोग गरिएको छ ।
त्यस्तै अन्य राष्ट्रिय गीतहरु ‘नेपाली हामी रहैला कहाँ नेपालै नरहे’, ‘मेरो देश डुब्नै लाग्यो किनार लगाइदेउन’, ‘यो देश मेरो पनि होइन र’ ,‘यो नेपाली शिर उठाई’, ‘रातो र चन्द्र चूर्य’ ‘देशले रगत मागे,ज्यान हाजिर छ’, ‘जाग लम्क चम्क हे नौजवान हो’, ‘गाउँगाउँबाट उठ बस्ती बस्तीबाट उठ’ ‘देशको लागि’ लगायतका राष्ट्रिय गीतहरुले पनि महत्वपूर्ण स्थान पाएका छन् ।