
काठमाडौं - जेनजी प्रदर्शनका क्रममा आगजनीमा परेपछि तुलसीपुर उपमहानगरपालिकाले मङ्गलबारदेखि त्रिपालमार्फत सेवा सुरु गरेको छ । उपमहानगरपालिकाको प्राङ्गणमा टेन्ट लगाएर अतिआवश्यक सेवा सञ्चालन गरिएको नगरप्रमुख टीकाराम खड्काले जानकारी दिए ।
उनका अनुसार विभिन्न सुरक्षा निकायको सहयोगमा प्राप्त टेन्टमार्फत क्यान्सर, मिर्गौला लगायतका गम्भीर रोगका बिरामीलाई उपचार सिफारिस गर्ने र तत्काल गर्नुपर्ने सेवा सुरु गरिएको हो ।
आगजनी र तोडफोडले क्षतिग्रस्त भएका दुईवटै पालिका भवन सफाइ गरिएको भए पनि प्राविधिक परीक्षण पूरा नभएकाले तत्काल प्रयोगमा ल्याउन नसकिने जनाइएको छ। नगरप्रमुख खड्काले प्राविधिक मूल्याङ्कन सकारात्मक आएपछि भवन मर्मत गरी प्रयोगमा ल्याइने बताए ।
पालिकाले निर्माण गरेको नौतले व्यापारिक भवनमा सिसा फुट्नु र शौचालय तोडफोडबाहेक ठूलो क्षति नभएको जनाइएको छ। भवन ठेकेदारले पालिकालाई हस्तान्तरण नगरेकाले तत्काल प्रयोगमा ल्याउन सकिएको छैन।
आगजनीका क्रममा उपमहानगरपालिकाका दमकलसहित २० भन्दा बढी सवारीसाधन जलेर नष्ट भएका छन् ।