काठमाडौं - जेनजीका विषयमा भइरहेको विवाद लगायतका विषयमा ‘हामी नेपाली’ नामक संस्थाले रिपोटर्स क्लबमा आयोजना गरेको पत्रकार सम्मेलनमा कुटाकुट भएको छ । आइतबारको पत्रकार सम्मेलनका क्रममा हामी नेपाल नामक संस्थाका सुदन गुरुङले धारणा राखिरहँदा विवाद भएको थियो ।
मृतकको परिवारसँग बसेर सुदनले मिडियासँग साक्षात्कार गरिरहेका थिए । पत्रकारले सोधेका प्रश्नहरुको उत्तर दिइरहेका थिए ।
तर, अचानक उनलाई बाहिरबाट प्रेस मिटमा छिरेका व्यक्तिले सोध्छन्, ‘ठूलो परिवर्तन भयो भन्नुभयो, आज प्रधानमन्त्रीले पदभार ग्रहण गर्नुभएको छ । ५१ जना मान्छे मारेर ल्याएको परिवर्तन यो ६ महिने अन्तरिम सरकारका लागि हो ? प्रत्यक्ष कार्यकारीको मुद्दा कहाँनेर तपाईंहरुले कार्यान्वयन गर्न सक्नुभएको छ ? तपाईंहरुले सदन विघटन गर्नुभयो, त्यसको असर कहाँ पुगेको छ तपाईहरुलाई ?’
यसपछि सुदनले सोध्छन्, ‘कहाँसम्म पुगेको छ, हजुर नै भन्नु न त ।’प्रश्नकर्ताले भन्छन्, ‘अब केही पनि हुँदैन, छ महिनापछि तिनै नेता आउँछन् ।’ सुदनले भन्छन्, ‘हामी फेरि आन्दोलन गर्छौ । आउनै दिन्नौं । नेताहरुलाई घरबाट निस्कनै दिन्नौं ।’ सुदन यतिमै रोकिँदैनन्, ‘एक छिन ल गाइज’ भन्दै थप्छन्, ‘मैले मान्छे मारेको होइन नि त ।’
प्रश्नकर्ताको प्रश्नले सुदन रिसाउँछन् । चिच्याउँदै बोल्छन्, ‘८० वर्षको इतिहासमा यो परिवर्तन भएको छ, के यो परिवर्तन होइन रु आगलागी हामीले गरेको हो ? हामीले सुरुवात होइन, अन्त्य चाहिँ गरिदिएको हो ।’ यसपछि प्रेसमिटमा हंगामा मच्चिन्छ । सबै मान्छे आ–आफ्नै सुरमा बोल्न सुरु गर्छन् । सुदन पोडियमबाट बाहिरिन्छन् । यसैगरी उनले आफू नेपालको छोरा भएकोले भारतीय भन्ने काम नगर्न चेतावनी दिएका छन् ।
उनले सुरुमै भने,‘तपाईंको भारतीय फेक सुदन गुरुङ यही हो । फेक भारतीय सुदन गुरुङ है, म नेपालको छोरो हो । मलाई भारतीय भन्ने काम नगर्नुहोला । कुनै मिडिया, कुनै व्यक्तिले मेरो प्रतिष्ठामा प्रहार गर्ने काम नगरिदिनु, प्लिज । म एउटामात्रै झण्डको मुनि छु अहिलेसम्म, त्यो मेरो देशको झण्डा हो । कहिले भारतीय भन्या छ, कहिले के भन्या छ, कहिले बारबरा फाउण्डेशन, कहिले फ्रि–तिव्बत भन्छ, कहिले चाईजिन भन्छ । हो, मेरो आँखा त त्यस्तै छ ।’