Harsamaya
शान्ति सम्झौता हाम्रो साझा राष्ट्रिय प्रतिबद्धता हो : प्रचण्ड
तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र तत्कालीन नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’।

काठमाडौं - पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विस्तृत शान्ति सम्झौताका बाँकी काम अविलम्ब पूरा गर्न सबै राजनीतिक दल, सरकार तथा सम्बन्धित सरोकारवाला पक्षलाई आग्रह गरेका छन् ।

विस्तृत शान्ति सम्झौता भएको ऐतिहासिक दिनको अवसरमा उनले संक्रमणकालीन न्यायको प्रक्रियालाई द्वन्द्वपीडितको भावना र शान्ति सम्झौताको मूल मर्मअनुसार निष्कर्षमा पुर्‍याउनुपर्ने बताएका हुन् ।

२०६३ मंसिर ५ गते तत्कालीन नेपाल सरकार र नेकपा (माओवादी)बीच विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर भएको स्मरण गर्दै उनले उक्त सम्झौता नेपाली जनताको त्याग, बलिदान, संघर्ष र परिवर्तनको आकांक्षाबाट निर्माण भएको राष्ट्रिय सहमतिको ऐतिहासिक दस्तावेज भएको उल्लेख गरे ।

तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र तत्कालीन नेकपा (माओवादी)का अध्यक्षका रूपमा आफूले सम्झौतामा हस्ताक्षर गरेको स्मरण गर्दै प्रचण्डले शान्ति सम्झौता नेपालको राजनीतिक इतिहासमा युगान्तकारी रूपान्तरण र राष्ट्रिय एकताको महत्वपूर्ण उदाहरणका रूपमा स्थापित भएको बताए ।

उनका अनुसार विस्तृत शान्ति सम्झौताको जगमा संविधानसभाको निर्वाचन, संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना, समावेशी लोकतन्त्र र संविधान निर्माणजस्ता ऐतिहासिक उपलब्धि हासिल भएका हुन् ।

यद्यपि, शान्ति सम्झौतामा गरिएका सबै प्रतिबद्धता अझै पूर्ण रूपमा कार्यान्वयन हुन नसकेको उनले बताए । विशेषगरी द्वन्द्वपीडितलाई न्याय, सत्य निरुपण तथा मेलमिलाप, बेपत्ता पारिएका व्यक्तिको अवस्था सार्वजनिक गर्ने कार्य र संक्रमणकालीन न्यायका बाँकी काम पूरा गर्नुपर्ने दायित्व अझै रहेको उनले उल्लेख गरे ।

शान्ति सम्झौताको मर्म द्वन्द्वको अन्त्यमा मात्र सीमित नभई पीडितलाई न्याय, समाजमा मेलमिलाप, दिगो शान्ति र सुशासनसहितको समृद्ध राष्ट्र निर्माण गर्नु रहेको प्रचण्डले बताए ।

‘शान्ति सम्झौता हाम्रो साझा राष्ट्रिय प्रतिबद्धता हो,’ प्रचण्डले भनेका छन्, ‘यसको पूर्ण कार्यान्वयन र द्वन्द्वपीडितलाई न्याय सुनिश्चित गर्नु हामी सबैको साझा जिम्मेवारी हो ।’

उनले शान्ति प्रक्रियामा योगदान पुर्‍याउने राजनीतिक दल, नागरिक समाज, बुद्धिजीवी, सुरक्षाकर्मी, द्वन्द्वपीडित तथा आम नेपाली जनताप्रति सम्मान व्यक्त गर्दै शान्ति प्रक्रियाका बाँकी काम शीघ्र पूरा गर्न सबै पक्षलाई गम्भीर हुन आग्रह गरेद ।

प्रकाशित मिति: शनिबार, मंसिर ५, २०८३  १०:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update