काठमाडौं - चीन भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूको राजनीतिक संवाद सार्वजनिक भएपछि त्यसमा सहभागी सांसदले जनताले दिएको मत र विश्वासलाई काम, इमानदारी र परिणामबाट प्रमाणित गर्नुपर्ने बताएका छन् ।
चीन भ्रमणका क्रममा रास्वपा सांसदहरूबीच नेपाली कांग्रेसको आन्तरिक विवाद, पार्टीको आधिकारिकता र अन्य राजनीतिक दलका नेताहरूको अवस्थाबारे भएको अनौपचारिक कुराकानीको भिडियो सार्वजनिक भएको थियो ।
भिडियोमा कांग्रेसको आधिकारिकता शेरबहादुर देउवाले पाए रास्वपालाई फाइदा हुने, एमाले अध्यक्ष केपी शर्मा ओली र नेता महेश बस्नेतको राजनीतिक सक्रियताले पनि रास्वपालाई लाभ पुग्न सक्ने आशयको संवाद सुनिएको छ ।
उक्त संवाद सार्वजनिक भएपछि सामाजिक सञ्जाल र राजनीतिक वृत्तमा विभिन्न प्रतिक्रिया आइरहेका बेला सांसद श्रीराम न्यौपानेले जनताको मत र विश्वास स्थायी नहुने भन्दै त्यसलाई कामबाट प्रमाणित गर्नुपर्ने धारणा सार्वजनिक गरेका हुन् ।
उनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को विगतको कार्यशैलीप्रति जनतामा देखिएको असन्तुष्टि र परिवर्तनको अपेक्षाका कारण रास्वपालाई अत्यधिक मत प्राप्त भएको बताएका छन् ।
जनताले दिएको अभूतपूर्व अवसरलाई सदुपयोग गर्दै सुशासन, विकास र सेवा प्रवाहमा ठोस परिणाम दिनुपर्ने उनको भनाइ छ । जनताको अपेक्षाअनुसार काम गरेर त्यसको नतिजा घरदैलोसम्म पुर्याउन नसके आगामी निर्वाचनमा रास्वपाले पनि विगतका राजनीतिक दलहरूले सामना गरेको जनविश्वासको संकट बेहोर्नुपर्ने उनले चेतावनी दिएका छन् ।
उनले अनौपचारिक छलफल र संवादको मूल निष्कर्ष पनि जनताले दिएको मत र विश्वासलाई काम, इमानदारी र नतिजाबाट प्रमाणित गर्नुपर्ने रहेको उल्लेख गरेका छन् ।
‘जनताले दिएको मत र विश्वास स्थायी होइन; त्यसलाई काम, इमानदारी र नतिजाबाट प्रमाणित गर्नुपर्छ,’ उनले भनेका छन् ।
यसअघि सार्वजनिक भएको भिडियोमा रास्वपा सांसदहरूबीच कांग्रेसको आन्तरिक विवाद र अन्य दलका नेताहरूको राजनीतिक अवस्थाबाट रास्वपालाई हुन सक्ने लाभबारे छलफल भएको सुनिन्छ । संवादमा रास्वपाले पनि काम गरेर देखाउन नसके जनताले आफूहरूलाई पनि विगतका दलकै अवस्थामा पुर्याउन सक्ने आशय व्यक्त गरिएको छ ।

