Harsamaya
छात्रवृत्ति र देश विदेशमा काम गरेर बनाएको घरमा आगजनी गरेको गभर्नर  पौडेलको गुनासो

काठमाडौं - नेपाल राष्ट्र बैङ्कका गभर्नर डा. विश्व पौडेलको भैँसेपाटी स्थित घरमा पनि हिजो आगजनी भएको छ । सोमबारको आन्दोलनपछि आक्रोशित बनेका जेनजी समूहले उनको घरमा आगो लगाइदिएका हुन्। उनले कस्तो अवस्थामा गभर्नरको पद आफूले लिएको सबैलाई थाहा भएको भन्दै कसैलाई मैले दुई पैसा कसैको खाएको या मागेको खबर भए रिपोर्ट गर्न समेत चेतावनी दिएका छन् । सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘ मैले योजना आयोगको उपाध्यक्ष हुनु अघि नै छात्रवृत्ति र देश विदेशमा काम गरेर साढे पाँच आना जग्गामा बनाएको घर हो। श्रीमती र मेरी ९ वर्षकी छोरीलाई यो घर धेरै मन पर्ने भएकोले गभर्नर भएपछि पनि यही बस्थ्यौ।’

भित्र यसको बनावट सुन्दर थियो। माथिल्लो तल्लामा किताबै किताब, मैले इबे आदिमा किनेका पुराना ऐतिहासिक सामग्री, विभिन्न देशमा जाँदा किनेर ल्याएका कलाकृति थिए। देवीदेवताका मूर्ति , भियतनामी सिल्क पेन्टिङ देखि लिएर माओत्सेतुङ सम्मका मूर्ति थिए। जम्मा ५०० प्रति छापिएको जंगबहादुरको गर्लफ्रेन्ड लौरा बेलको जीवनी पनि त्यही थियो। छोरीको अत्यन्त मन पर्ने कोठा पनि त्यही थियो। उनले लेखेका छन् ।

उनले यो घर जल्नु दुई घण्टा अघि नै यो घर जलेको खबर एक प्रख्यात अनलाइनमा आएको बताउँदै आफूले बुझ्दा घरमा केही नभएको तर पछि भने घर भित्र मानिस गएर बा आमाको फोटो, छोरीको सानो छँदाको फोटो लात्ताले कुल्चेर फुटाए र सबैमा आगो लगाएको बताए। छोरीलाई कपन गुम्बाको गुरु रिम्पोछेले दिनुभएको यौटा मन्त्रेको खेलौना थियो, ऊ राती नतर्सियोस् भनेर च्यापेर सुत्न दिन्थ्यौँ। त्यो खेलौना पनि कुल्चिए र आगो लगाइदिएको उनले गुनासो गरेका छन् ।

उनले आफू भन्दा पनि पिडामा परेका व्यक्तिहरूको बारेमा पढेको बताउँदै सबैलाई सूचना होस भनेर जल्दै गरेको आफ्नो घरको भिडियो पोस्ट गरेको बताएका छन् ।  

 

प्रकाशित मिति: बिहीबार, भदौ २६, २०८२  १०:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update