
काठमाडौं - प्रधानसेनापति अशोकराज सिग्देलले केही बेरमा राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्। जेनजी प्रदर्शन चर्किरहेका बेला नेपाली सेनाका प्रधानसेनापतिले देशवासीका नाममा सम्बोधन गर्न लागेका हुन्।
यसअघि सरकारका मुख्यसचिव एकनारायण अर्याल, प्रधानसेनापति सिग्देल, गृह सचिव गोकर्णमणि दुवाडी, सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्याल, नेपाल प्रहरीका महानिरीक्षक चन्द्र कुवेर खापुङ र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख अनुसन्धान निर्देशक हुत राज थापाले संयुक्त वक्तव्य जारी गरी जेनजी प्रदर्शनकारीलाई संयमित हुन आग्रह गरेका थिए।
त्यस लगत्तै सेनाले आफ्नो एकल वक्तव्य जारी गरी सार्वजनिक सम्पत्ति तोडफोड नगर्न अनुरोध गरेको थियो।
जेनजी प्रदर्शनमा सोमबार सरकारी दमनपछि धेरै युवाहरूको ज्यान जानुका साथै सयौँ घाइते भएका थिए। त्यसपछि मङ्गलवार जेनजी प्रदर्शन नेताहरूको निवासलक्षित भएको छ। युवाहरूले उनीहरूको निवासमा आगजनी गरेका छन्। योसँगै महत्त्वपूर्ण प्रशासनिक निकाय सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत, राष्ट्रपति निवास शीतल निवासलगायत सबैतिर आगजनी गरेका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलले पनि संयम अपनाउन आग्रह गर्दै जेनजीलाई वार्तामा आउन आग्रह गरेका छन् । यसबाहेक काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह, डा सन्दुक रुइत, कुलमान घिसिङलगायतले प्रदर्शनकारीलाई संयम रही सार्वजनिक सम्पत्तिमा नोक्सान नगर्न अनुरोध गरेका छन्।
स्थिति असामान्य बनेपछि बिहान केही मन्त्रीहरुले राजीनामा दिएका थिए भने दिउँसो प्रधानमन्त्री केपी शर्मा ओलीले पनि पद छाडिसकेका छन्। नेतृत्व संकट गहिरिइरहेको र प्रदर्शन चर्किरहेकाले प्रधानसेनापतिबाट हुनलागेको सम्बोधनलाई अर्थपूर्ण मानिएको छ।