Harsamaya
भाद्र २३ : आज दिनभर देशमा के-के भयो ?
ग्राफिक्स : हर समय/Har Samaya

काठमाडौं - काठमाडौंमा भएको जेनजी पुस्ताको प्रदर्शनमा मृत्यु हुनेको संख्या १९ पुगेको छ । आन्दोलनका क्रममा ४२२ जना घाइते भएका छन् । घाइतेमध्ये १७० जनाको सिभिल अस्पताल, १० जनाको वीर अस्पताल, ५९ जनाको ट्रमा सेन्टर, १०२ जनाको एभरेष्ट अस्पताल, ६ जनाको पाटन अस्पताल, ३१ जनाको काठमाडौं मेडिकल कलेज, १८ जनाको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ । यस्तै, ३ जनाको नर्भिक अस्पताल, चार जनाको अन्नपूर्ण न्यूरो अस्पताल, एक जनाको गण्डकी मेडिकल कलेज, सात जनाको दमक अस्पताल, चार जनाको विपी कोइराला अस्पताल धरान र चार जनाको विराट मेडिकल कलेजमा उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  सरकारले घाइतेहरूको निशुल्क उपचार गर्ने जनाएको छ ।

देशका विभन्न शहरमा निषेधाज्ञा र कर्फ्यू
जेनजीले देशका ठूला शहरहरूमा प्रदर्शन गरेका छन् । पोखरा, चितवन, इटहरी, वीरगञ्ज र बुटवल लगायतका शहरहरुमा जेन्जीले प्रदर्शन गरेका हुन् । प्रदर्शन हिंसात्मक भएपछि पोखरा, इटहरी, बुटवल र वीरगञ्जमा निषेधाज्ञा र कर्फ्यू जारी गरिएको छ । 

जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगर क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । ‘जेनजी’ समूहले आज बेलुका वीरगञ्जको घण्टाघर, माईस्थानलगायत स्थानमा सार्वजनिक सम्पत्तिको तोडफोड र आगजनी गर्न थालेपछि पर्साका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले सोमबार बेलुका ९ बजेदेखि मंगलबार बिहान ९ बजेसम्म लागू हुने गरी निषेधाज्ञा आदेश जारी भएको जानकारी दिए । 

यस्तै, रुपन्देही जिल्ला प्रशासन कार्यालयले बुटवल–भैरहवा क्षेत्रमा शान्ति सुरक्षा कायम राख्न सोमबार दिउँसो ४ बजेदेखि राति १० बजेसम्म कर्फ्यू आदेश जारी गरेको छ । 

सुनसरी जिल्ला प्रशासन कार्यालयले इटहरीमा अनिश्चीतकालीन कर्फ्यू आदेश जारी गरेको छ । इटहरीमा जेनजीहरुको आन्दोलन चर्किएपछि स्थानीय प्रशासनले अर्को सूचना जारी नभएसम्मका लागि इटहरी चोक आसपास क्षेत्रमा लागू हुनेगरी कर्फ्यू लगाएका हो । आन्दोलनका क्रममा सुनसरीको इटहरी उपमहानगरपालिका भवनभित्र प्रदर्शनकारी प्रवेश गरी आगजनी गरेका थिए । 

यता, जिल्ला प्रशासन कार्यालय, कास्कीले पोखराका केही स्थानलाई निषेधित क्षेत्र घोषणा गरेको छ । पोखरा महानगरपालिका–७ सहिदचोक क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिइन् । उनका अनुसार आज दिउँसो २ बजेदेखि अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा जारी गरिएको हो ।

गृहमन्त्रीको राजीनामा
गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन् । लेखकले सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा आफ्नो राजीनामा प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष बुझाएका हुन् । 
सोमबार भएको जेनजीहरूको प्रदर्शन हिंसात्मक बन्दा १९ जनाले ज्यान गुमाएको भन्दै उक्त घटनाको आफूले नैतिक जिम्मेवारी लिनुपर्ने बताउँदै लेखकले राजीनामा दिएका हुन् । दिनभर प्रहरी दमन गरेपछि राजीनामा आएको भन्दै उनको आलोचना भएको छ । 

छानबिन गर्न समिति गठन 
जेनजीले गरेको प्रदर्शनका क्रममा भएका घटनाहरूको छानबिन गर्न सरकारले समिति गठन गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले छानबिन समिति गठन गर्ने निर्णय गरेको हो । समितिलाई १६ दिनको समय दिइएको छ । 

जेनजीको आन्दोलन दमनबारे विपक्षी दलहरूले के भने ?
विपक्षी दलहरूले प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकको राजीनामा मागेका छन् । नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारको राजीनामा मागेका हुन् । यद्यपि गृहमन्त्री लेखकले राजीनामा दिइसकेका छन् । रास्वपाले अर्ली इलेक्सनको माग पनि गरेको छ । 

सत्ता पक्षका नेताले के भने ? 
सत्ता पक्षका नेता डा. शेखर कोइराला, राजेन्द्र बजगाईलगायत नेताले सरकारको आलोचना गरेका छन् । कोइरालाले कांग्रेसले तुरुन्तै सरकार छाड्नुपर्ने बताएका छन् । उनले सरकारले विद्यार्थीमाथि गरेको गोली प्रहारप्रति तीव्र आपत्ति जनाउँदै वर्तमान सरकारको औचित्य नै समाप्त भइसकेको टिप्पणी गरेका छन् । यता, सांसद राजेन्द्र बजगाईंले सरकारको हात रगतमा डुबेको भन्दै टिप्पणी गरेका छन् । सामाजिक सञ्जालमा लेख्दै उनले कांग्रेसले सरकार तत्काल छाड्नुपर्ने सुझाव दिएका छन् । यस्तै सोमबार साँझ सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको बैठकमा नेताहरूले कांग्रेसले तत्काल एमालेसँग सत्ता समीकरण तोड्नुपर्ने विषय राखेका थिए । सो विषयबारे जवाफ दिँदै सभापति शेरबहादुर देउवाले भने सात बुँदे सहमतिले समस्या पार्ने भन्दै सरकारबाट तत्काल निस्कन समस्या हुने बताएका छन् । 

परीक्षा स्थगित, विद्यालय बन्द
चार वर्षे स्नातक तहको दोस्रो वर्षका आंशिक तथा मौका परीक्षाहरू स्थगित भएको छ । त्रिभुवन विश्वविद्यालयले सूचना जारी गर्दै चार वर्षे स्नातक तहको दोस्रो वर्षका आंशिक तथा मौका परीक्षाहरू स्थगित गरेको हो । विश्वविद्यालयले देशैभरका परीक्षा केन्द्रमा २४, २५ र २६ भदौमा सञ्चालन हुने स्नातक दोस्रो वर्षको परीक्षा स्थगित गरिएको जनाएको छ । यस्तै काठमाडौं महानगरपालिकाले भदौ २६ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ । सोमबार भएको जेनजी पुस्ताको प्रदर्शनले अवस्था तनावग्रस्त बनेपछि महानगरभित्रका सम्पूर्ण विद्यालय भदौ २६ गतेसम्म बन्द गर्ने निर्णय गरेको हो ।

नेपाल र बंगलादेशबीचको खेल स्थगित 
नेपाल र बंगलादेशबीच दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल स्थगित गरिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार विज्ञप्ति जारी गर्दै मंगलबार हुने भनिएको खेल स्थगित भएको जानकारी दिएको हो । जेनजीको प्रदर्शनका कारण देशमा भएको हालको अवस्थालाई मध्यनजर गर्दै खेल स्थगित गरिएको एन्फाले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, भदौ २३, २०८२  २२:४५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update