Harsamaya
जेनजी प्रदर्शन : मृत्यु हुनेको संख्या १७ पुग्यो, ६ जनाको शल्यक्रिया गर्नुपर्ने
 काठमाडौंमा भएको जेन–जी पुस्ताको प्रदर्शनमा मृत्यु हुनेको संख्या १७।

काठमाडौं - काठमाडौंमा भएको जेनजी पुस्ताको प्रदर्शनमा मृत्यु हुनेको संख्या १७ पुगेको छ ।

बानेश्वरमा भएको आन्दोनमा परी १७ जना प्रर्दशनकारीको मृत्यु भएको र ६ जनाको शल्यक्रिया गर्नुपर्ने अवस्था रहेको स्वास्थ्यमन्त्रीका प्रेस संयोजक पवन पौंडेलले जानकारी दिए ।

उनको अनुसार दुई सय ५६ जना घाइते भएका छन् भने २२ जना गम्भीर छन् ।

उनले भने,‘अहिलेसम्म मृत्यु हुनेको संख्या १७ पुगेको छ । दुई सय ५६ जना घाइते र २२ जना गम्भीर घाइते छन् । ६ जनाको शल्यक्रिया गर्नुपर्ने अवस्था रहेको छ ।’

सिभिल अस्पतालमा एक सय जना घाइतेमध्ये तीन जनाको मृत्यु भएको छ । १५ जनालाई वीर अस्पताल र ट्रमा सेन्टरमा पठाइएको छ ।

राष्ट्रिय ट्रमा सेन्टरमा ४९ जना घाइतेको उपचार भइरहेको छ भने आठ जनाको मृत्यु भएको छ । एभरेष्ट अस्पतालमा ३४ जना घाइते छन् भने तीन जनाको मृत्यु भएको छ।

काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालमा ३२ जना घाइते छन् भने दुई जनाको मृत्यु भएको छ । ६ जनाको शल्यक्रिया गर्नुपर्ने छ ।

टिचिङ शिक्षण अस्पतालमा १८ जना घाइते छन् भने एक जनाको मृत्यु भएको छ । नर्भिक अस्पतालमा तीन जना घाइते भएका छन् ।

त्यस्तै ,गण्डकी मेडिकल कलेजमा एक जना घाइते र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई जना घाइते, दमक अस्पतालमा सात जना घाइतेको उपचार भइरहेको जानकारी प्राप्त भएको छ ।

प्रकाशित मिति: सोमबार, भदौ २३, २०८२  १८:२९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update