
काठमाडौं - पूर्वमन्त्री तथा पूर्वसचिव शंकरप्रसाद कोइरालाले निजामती सेवा राष्ट्रको स्थायी सरकार र कार्यान्वयनतन्त्र भएको बताएका छन् ।
निजामती सेवा दिवस २०८२ को अवसरमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै कोइरालाले कर्मचारी प्रणाली कुनै सत्ताको भाग होइन, कार्यान्वयनको आधार स्तम्भ भएको स्पष्ट पारे ।
‘निजामती सेवा भनेको राज्यको एउटा स्थायी सरकार र कार्यान्वयन तन्त्र हो,’ कोइरालाले भने, ‘जस्तोसुकै कठिन परिस्थिति आएपनि निजामती कर्मचारी देश र जनताको सेवामा निरन्तर खटिइरहेका छन् ।’
उनले मुलुकमा भइरहेका आरोह–अवरोहका बीचमा पनि निजामती सेवाले देशलाई जोगाउँदै ल्याएको उल्लेख गरे । तथापि, हाल निजामती सेवा राजनीतिक तह र आम नागरिक तह दुवैतर्फबाट ‘चेपमा परेको’ अवस्थामा रहेको कोइरालाको भनाइ थियो ।
‘मुख्य कुरा के हो भने, राजनीतिक तहबाट पनि र जनताको तहबाट पनि यो निजामती सेवा चेपमा परेको अवस्था छ,’ उनले भने, ‘हाम्रो सार्वजनिक छवि सुधार गर्न जरुरी छ ।’
संघीय निजामती सेवा ऐन अझै कार्यान्वयनमा आउन नसकेकोमा चिन्ता व्यक्त गर्दै उनले चाँडै ऐन लागू हुनेमा आफू आशावादी रहेको पनि बताए ।
उक्त कार्यक्रममा कर्मचारीको दायित्व झल्काउने विशेष प्रदर्शनीसहित विविध सांस्कृतिक प्रस्तुतीहरू पनि प्रस्तुत गरिएको थियो ।