
काठमाडौं - दोस्रो राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स सम्मेलन आगामी शनिबार काठमाडौंको होटल हिमालयमा हुने भएको छ ।
सम्मेलन डिजिटल मिडिया फाउन्डेसनले आयोजना गर्दैछ भने इन्टरनेट सोसाइटी नेपाल शाखा, युएनडिपी नेपाल, युनेस्को काठमाडौं, डिजिटल फ्रिडम कोलिसन, रोबोटिक एसोसिएसन नेपाल र डिजिटल राइट्स नेपालको सहकार्यमा सम्पन्न हुनेछ ।
एसिया–प्यासेफिक क्षेत्रका डिजिटल ट्रान्सफर्मेसन थिङ्क ट्यांक श्रीगणेश लोकनाथन विशेष वक्ताका रूपमा कीनोट स्पीच दिनेछन् । संघीय संसदका सभामुख देवराज घिमिरेले सम्मेलनको उद्घाटन गर्ने कार्यक्रम छ ।
’एआई एण्ड डिभलपमेन्टः ब्रिजिङ द ग्याप, बिल्डिङ द अपरचुनिटिज’ नाराका साथ सम्पन हुने सम्मेलनका छलफल सत्रहरूमा ‘विश्वव्यापी एआई प्रतिस्पर्धामा विकासोन्मुख राष्ट्रको दृष्टिकोण’, ‘नेपालको बैंक तथा वित्तीय रूपान्तरणका लागि एआई’, ‘सीमित स्रोतसाधन परिवेशमा गुणस्तरीय स्वास्थ्यका लागि एआई’, र ‘मिडियादेखि राजनीतिसम्मः जेनरेटिभ एआई जमानाको मिथ्या सूचनाको परिदृश्य’ जस्ता रहेका छन् ।
छलफलमा युनिभर्सिटी अफ नर्थ क्यारोलिनाका प्राध्यापक नीर क्षेत्री, ब्रिटिस काउन्सिलकी शिक्षा प्रविधि प्रमुख निनाज इचापोरिया, युनेस्को नेपाल प्रमुख याको दु तोइट लगायतका विज्ञहरूले आफ्नो विचार प्रस्तुत गर्नेछन्।
सम्मेलनका लागि एनसेल बिजनेस, नबिल बैंक, मुक्तिनाथ विकास बैंक, प्रभु बैंक, राष्ट्रिय वाणिज्य बैंक र डिस होमले प्रायोजन गरेका छन् । आयोजक संस्थाका प्रवेश सुवेदीले हुर्कदै गरेको प्रविधिबाट फाइदा लिन र सचेत हुनुपर्ने विषयमा सम्मेलनले भरपुर ज्ञान प्रदान गर्ने दावी गरे । एआई भर्खर उदाउँदो प्रविधि भएकाले यसबाट प्राप्त हुने अवसरहरू र चुनौतीहरूबारे बेलैमा बुझनका लागि पनि सम्मेलन फलदायी हुने उनले बताए ।