Harsamaya
आज कोशी र बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
जल तथा मौसम पूर्वानुमान महाशाखा।

काठमाडौं - जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेको छ। जसले गर्दा नेपालमा मनसुन केही कमजोर रहेको छ भने बंगालको खाडीबाट जलवाष्पयुक्त हावा पनि भित्रि रहेको छ । 

महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ। लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू-भागका केही स्थानहरूमा र तराई भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

यस्तै, आज राती भने कोशी प्रदेश र मधेश प्रदेश लगायत देशको पहाडी भु-भागमा साधारणतया बदली रहि बाँकि भु-भागमा आंशिक बदली रहने सम्भावना रहेको छ।

महाशाखाका अनुसार कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडका थोरै स्थानहरूमा र बाँकी भू–भागका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ।

कोशी प्रदेशको तराई र बागमती प्रदेशका पहाडको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको समेत महाशाखाले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, भदौ १८, २०८२  ०७:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update