Harsamaya
पाकिस्तानमा बाढीबाट ३३ जनाको मृत्यु, लाखौं प्रभावित
पाकिस्तान बाढी ।

एजेन्सी - पाकिस्तानको पूर्वी प्रान्त पञ्जाबमा आएको भीषण बाढीले ठूलो जनधनको क्षति पुर्याएको छ । पञ्जाब प्रादेशिक विपद् व्यवस्थापन प्राधिकरणका महानिर्देशक इरफान अलीका अनुसार, हालसम्म ३३ जनाको मृत्यु भएको छ भने दुई करोडभन्दा बढी नागरिक बाढीबाट प्रभावित भएका छन् ।

बाढीको जोखिमका कारण करिब पाँच लाख मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । पञ्जाबका प्रमुख नदीहरूको आसपासका ग्रामीण क्षेत्रहरूमा डुबान बढिरहेकाले उद्धार र राहत कार्य अझै तीव्र गतिमा जारी रहेको छ । उद्धारका लागि आठ सयभन्दा बढी डुङ्गा र एक हजार तीन सयभन्दा बढी उद्धारकर्मी खटाइएको जनाइएको छ ।

प्रान्तका तीन ठूला नदीहरूमा अहिले पानीको सतह खतरा सीमाभन्दा माथि पुगेको छ । प्रभावितहरूका लागि विभिन्न स्थानमा अस्थायी राहत शिविर स्थापना गरिएको छ, जहाँ खाद्यान्न, आवास र आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराइएको छ ।

पाकिस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका अनुसार, जुन २५ गतेदेखि लगातार भइरहेको वर्षा र बाढीका कारण देशभर हालसम्म ८५४ जनाको मृत्यु भइसकेको छ भने एक हजार १३० जना घाइते भएका छन् ।
 

प्रकाशित मिति: सोमबार, भदौ १६, २०८२  १८:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update