Harsamaya
आगामी शनिबार प्रधानमन्त्री केपी शर्मा ओली ५ दिने चीन भ्रमणमा जाने
प्रधानमन्त्री केपी शर्मा ओली ।

काठमाडौं - जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी जिनपिङको निमन्त्रणामा प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमण गर्ने भएका छन् ।

बुधबार परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री केपी शर्मा ओली सांघाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलन २०२५ मा भाग लिन चीन जान लागेका हुन् । 

प्रधानमन्त्री ओली यहि भाद्र १४ गते शनिबारदेखि  भाद्र १८ गतेसम्म चीनमा रहि जापानी आक्रामकता विरुद्ध चिनियाँ जनताको प्रतिरोध युद्ध र विश्व फासिस्ट विरोधी युद्धको विजयको ८० औं वार्षिकोत्सवको स्मृति समारोहमा समेत भाग लिने छन् ।

मन्त्रालयका अनुसार ओलीले चिनियाँ राष्ट्रपति सीसँग अलग्गै भेटवार्ता समेत गर्नुका साथै १७ भदौमा उनले तिआन्जिनमा आयोजना हुने एससीओ प्लस शिखर सम्मेलनलाई सम्बोधन गर्नेछन् । यसैक्रममा उनले शिखर सम्मेलनमा भाग लिने केही विश्व नेताहरूसँग भेटघाट समेत गर्नेछन् ।

भ्रमणकैक्रममा प्रधानमन्त्री ओलीले चीनका उपराष्ट्रपति हान झेङसँग भेटवार्ता गर्ने छन् ।

भ्रमण टोलीमा प्रधानमन्त्री ओलीकी धर्मपत्नी राधिका शाक्य,  शिक्षामन्त्री रघुजी पन्त, पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डे, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, प्रधानमन्त्रीका आर्थिक सल्लाहकार डा. युवराज खतिवडा, सांसद् छविलाल विश्वकर्मासहितका उच्च अधिकृतहरू समेत रहेनछन् ।

प्रकाशित मिति: बुधबार, भदौ ११, २०८२  २०:५४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update