
काठमाडौं - नेपालमा भारतबाट आयात हुने विद्युतीय गाडी (ईभी) आयातमा वृद्धि भएको छ । विशेषगरी नेपालमा चीनबाट धेरै ईभी गाडी भित्रिने भए पनि बाढी पहिरोका कारण उत्तर तर्फका दुवै नाका रसुवागढी र तातोपानी ठप्प भएपछि भारतबाट ईभी आयातमा वृद्धि भएको भन्सार विभागको तथ्याङ्कले देखाएको हो ।
चालु आर्थिक वर्ष २०८२/८३ को साउन महिनामा नेपालमा भारतबाट ८५ ओटा र चीनबाट ६० ओटा गरी कुल १६० ओटा चारपांग्रे ईभी आयात भएका छन् । अघिल्लो वर्षको तुलनामा चीनबाट आयात हुने ईभी सङ्ख्या घटेको देखिएको छ ।
अघिल्लो आव २०८१/८२ को सोही अवधिमा नेपालमा कुल ३८१ ओटा ईभी आयात भएका थिए । जसमध्ये चीनबाट २०२ ओटा र भारतबाट १७८ ओटा मात्रै आयात भएको विभागको तथ्याङ्कले देखाएको छ ।
नाडा अटोमोबाइल्स एशोसिएशनका अनुसार बाढी पहिरोका कारण उत्तर तर्फका दुवै नाका रसुवागढी र तातोपानी ठप्प भएपछि भारतीय ईभी आयातमा वृद्धि भएको देखिएको हो ।
गत असार २४ मा नेपाल–चीन सीमास्थित लेहेन्दे खोलमा आएको विनाशकारी बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल समेत बगाएपछि रसुवागढी बाट दुई देश बिच हुने व्यापार ठप्प छ । त्यसै गरी, अरनिको राजमार्गअन्तर्गत कोदारी खण्डमा पहिरो खसेर ठप्प बनेको तातोपानी नाका १८ दिनपछि बल्ल सञ्चालनमा आएको छ ।