
काठमाडौं - मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेकोले नेपालमा मनसुन केही कमजोर रहेको छ। तथापि, बंगालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रने क्रम रहिरहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश, मधेश प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही बाँकी प्रदेशमा मूख्यतया सफा देखि आंशिक बदली रहेको छ।
सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको छ । साथै कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ ।
दिउँसो सबै प्रदेशका पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ । सबै प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा र तराई भूभागका एक दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
राती भने देशभर साधारणतया बदली रहनेछ । कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी भूभागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागका एक दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ ।
कोशी प्रदेशको तराई र पहाडी भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले पछिल्लो मौसमी सूचनाको जानकारी लिनुहुन सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूमा अनुरोध छ ।