Harsamaya
निजी क्षेत्रलाई प्रोत्साहन गर्न गम्भीर भएर लागेका छौँ : मन्त्री पाण्डे
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डे ।

काठमाडौं - संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले निजी क्षेत्रलाई प्रोत्साहन गर्ने कुरामा गम्भीर भएर लागेको बताएका छन् ।

आज कलंकी होटेल एण्ड गेष्ट हाउस एसोशियसनको १३ औँ वार्षिक साधारण सभाको उद्घाटन गर्दै उनले पर्यटन क्षेत्रमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण भएको भन्दै निजी क्षेत्रलाई लगानी गर्नको लागि सहज वातावरण बनाउनु पर्ने बताए ।

उनले भने, ‘निजी क्षेत्रलाई कसरी प्रोत्साहन गर्ने भन्ने कुरामा म धेरै नै गम्भीर भएर लागेको छु । निजी क्षेत्र शिक्षा क्षेत्रमा आयो भने शैक्षिक माफिया भन्छौँ, अस्पताल चलाउन आए स्वास्थ्य माफिया भन्छौँ । माफिया भनेको के हो त्यसको अर्थ थाहा नभई त्यो शब्दको दुरुपयोग भईरहेको छ । निजी क्षेत्रलाई लगानी गर्ने वातावरण हामीले बनाई दिनु पर्छ । नीति त्यस्तो सहज बनाउनु पर्छ, जसले गर्दा निजी क्षेत्रलाई सहज होस् । मेरो मन्त्रालय त झन् निजी क्षेत्रको सहयोगबिना चल्दै चल्दैँन ।’

यस्तै, उनले होटेल व्यवसायको क्षेत्रमा महिलाको सहभागिता एकदमै न्यून भएको भन्दै यो सङ्ख्यालाई बढाउने र स्वंयम महिलाहरूले नेतृत्व गरेर यो क्षेत्रमा आफूलाई लगानीकर्ताको रूपमा अगाडि ल्याउने वातावरण दिन सबै लाग्नु पर्ने बताए ।

उनले भने, ‘यो क्षेत्रमा महिला व्यवसायीहरू कति हुनुहुन्छ भनेर हेर्ने हो भने धेरै हुनुहुन्न कम नै हुनुहुन्छ । महिलाको सङ्ख्यामा कमी छ । यो सङ्ख्यालाई बढाउने र स्वंयम महिलाहरूले नेतृत्व गरेर यो क्षेत्रमा आफूलाई एउटा सञ्चालकको रूपमा, लगानीकर्ताको रूपमा अगाडि ल्याउने वातावरण दिन हामी सबै लाग्नु पर्छ । उहाँहरू आउँदा यो क्षेत्र अझ राम्रो हुन्छ जस्तो लाग्छ किनभने यो क्षेत्र भनेको आतिथ्यताको क्षेत्र हो । यो क्षेत्रमा जति सुकै पुरुषले काम गरेपनि महिलाहरूले जति आतिथ्यता पुरुषले दिन सकिरहेको छैन् । त्यो देखिएको छैन । त्यसैले आतिथ्य, सत्कारको क्षेत्रमा महिलाहरू जति आउनु भयो त्यति नै यो क्षेत्रले प्रगति गर्न सक्छ जस्तो लाग्छ ।’

साथै, जति धेरै होटलहरुमा आकर्षण थप्न, मानिसलाई होटलमा बस्ने, खाने वातावरण मिलाउन सकिन्छ त्यति नै पर्यटन क्षेत्रको विकास र विस्तार सम्भव रहेको पनि उनको भनाई छ ।

 

प्रकाशित मिति: बुधबार, भदौ ४, २०८२  १४:११
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update