
काठमाडौं - आज ‘विश्व फोटोग्राफी दिवस’ विश्वभर विभिन्न प्रकारको कार्यक्रमहरू गरी मनाइँदै छ । हरेक वर्षको अगस्ट १९ तारिखको दिनमा फोटोग्राफीमा रुचि राख्ने मानिसहरूलाई प्रोत्साहन गर्न र व्यावसायिक रूपमा फोटोग्राफी गरेर बसिरहेका मानिसहरूको सम्मान गर्न विश्व फोटोग्राफी दिवस मनाइन्छ ।
संसारमा सबैभन्दा पहिलो तस्बिर सन् १८२६ मा फ्रान्समा खिचिएको थियो । त्यस बेला जोसेफ नाइस्फोर नाइप्सीले हेलियोग्राफीको सहायताबाट पहिलो तस्बिर खिचेका थिए । हेलियोग्राफी भनेको पनि फोटोग्राफीकै एक प्रक्रिया हो । त्यतिबेला एउटा तस्बिर खिच्न निक्कै समय लाग्थ्यो । तर अहिलेको अवस्था त्यस्तो छैन । त्यस बेला देखि अहिले सम्म फोटोग्राफीको तरिका र स्तरमा धेरै परिवर्तन भएको छ ।
फोटोग्राफीको विकासक्रम हेर्ने हो भने पहिला रिल वाला क्यामराबाट फोटो खिचिन्थ्यो त्यसपछि डिजिटल क्यामरामा आयो र अहिले हात हातमा फोन अनि फोनको क्यामरा गरी फोटोग्राफीको स्तरीय बढ्दै गएको छ । आजको समयमा फोटो खिच्नु कुनै गाह्रो काम होईन, हामीले जुनसुकै बेला आफ्नो फोनबाट कुनै पनि पललाई कैद गर्न सक्छौ ।