काठमाडौं - बाबाको मुख हेर्ने दिनको अवसरमा केही दिन अगावै स्वर्गीय बुबाको सम्झनामा बुबालाई उपहार स्वरूप गंगा सुवेदीले आफ्नो स्वरमा सजिएको हृदयस्पर्शी गीत ‘बाबाको मायाले भक्कानिन्छ मन’ सार्वजनिक गरेकी छन् ।
कम्पोजर एरेन्जर, साथै गीतको भावलाई शब्दमा ढाल्न र गितको विच विचमा स्वर भर्ने कार्य राजेन्द्र बजगाईले गरेका छन् । उनले लिरिक्सलाई पूर्णता दिन पनि महत्त्वपूर्ण सहयोग गरेका छन् ।
यो गीत केवल सिर्जना मात्र होइन, सुवेदी परिवारले भोगेको गहिरो पीडा र जीवनका कठोर अनुभूतिहरूको दस्ताबेज हो । गंगाको बुबा २०८० साल फागुन २५ गते अकस्मात् संसारबाट बिदा भए । त्यो क्षणले परिवार र गंगाको सम्पूर्ण जीवनमा उतारचढाव ल्याईदियो । घरको मूल आधार, परिवारको भरोसा, सङ्घर्षको प्रेरणा श्रोत बुबाको वियोगपछि सुवेदी परिवार अत्यन्तै विक्षिप्त बनेको स्मरण गंगाले गरेकी छिन् ।
गंगाले आफूले भोगेको जीवन–सङ्घर्ष खुलाउँदै भन्छिन्, ‘आमाबुबाको हातखुट्टामा चर्चरी रगत बगेको, मुखबाट रगत निस्कने गरी हाम्रो लागि दुख गर्नुभएको भयावह दृश्य देखेर म सानै उमेरमा कमाउन निस्किए । प्लस टु सकाएर स्नातक तहमा अध्ययनरत हुँदा कर्णालीको यात्रामा जागिरको लागि निस्किँदा आमाबुबाले आँसुका धारा बगाउँदै भनेका शब्दहरू सम्झिदा पनि गाह्रो हुन्छ’ । जागिरे जीवन सँगै गंगाले मास्टर डिग्री हासिल गरेकी छिन् भने कानुनमा एलएलवि तह उर्तिण गरेकी छन् ।
गंगाले भोगेको पीडा, अधुरो सपना र अपार माया गीतमा मिसिएको छ । बुबाले सन्तानलाई आत्मनिर्भर बनाउन आफ्ना सबै सपना र जीवनलाई बलिदान दिएको उनले भावुक हुँदै सम्झिन्छिन् ।
उनी भन्छिन्, ‘जति नै दुख गर्नुपरे पनि सन्तानको शिक्षादीक्षालाई बुबाले पहिलो प्राथमिकतामा राख्नुहुन्थ्यो । आफैँ बेचिएर पनि तिमीहरूलाई पढाउँछु, मेरो सम्पत्ति नै तिमीहरू हो, हामीले जस्तो दुख तिमीहरूले गर्न नपरोस् भन्नुहुन्थ्यो । घरको जेठो सन्तान ससाना भाइबहिनी, बाबाआमाको चरम सङ्घर्षलाई देख्न नसकेर अब कमाउन पर्छ, भाईवहिनीलाई पढाउन पर्छ सक्षम बनाउनपर्छ । हामी सबै आत्मनिर्भर भयौ भने बाबाआमालाई सुखको आभास गराउन सकिन्छ भन्ने सोच बोकेर घरदेखि टाढा सानै उमेरमा जागिरको लागि निस्किएको उनी बताउँछिन् । तर जब सन्तान आत्मनिर्भर बन्दै थिए, बाबाआमालाई सुख दिने समय आएको थियो, त्यति बेला नै बाबाले हामीलाई अकस्मात् छाडेर जानुभयो,’ गंगाको बोलीसँगै मन भक्कानिन्छ । बुबाको असामयिक निधनपछि लेखिएका शब्दहरू नै आज गीत बनेर सार्वजनिक भएका छन् ।
यस वर्षको बाबाको मुख हेर्ने दिनको अवसरमा स्वर्गीय बुबालाई उपहार स्वरूप गंगाले ‘बाबाको मायाले भक्कानिन्छ मन’ गीत आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरेकी छिन् । साङ्गीतिक क्षेत्रमा गंगाको यो पहिलो सिर्जना हो ।