Harsamaya
पाँच पोखरी थाङ्पालमा ८४ फिटको बुद्ध प्रतिमा बन्दै, अर्को वर्षसम्ममा निर्माण सम्पन्न हुने

सिन्धुपाल्चोक - सिन्धुपाल्चोकको पाँच पोखरी थाङ्पालमा  गौतम बुद्धको विशाल प्रतिमा निर्माण कार्य तीव्र गतिमा अगाडि बढेको छ । थाङ्पाल गाउँपालिका ७ भोटेनाम्लाङस्थित युङ्बा दोङ (ठूलो ढुङ्गा) मा निर्माणाधीन बुद्धको प्रतिमा तीव्रता पाएको हो ।

गाउँपालिका अध्यक्ष टासी लामाले पालिकाको गौरवको योजनाका रूपमा रहेको यो परियोजना चार वर्षदेखि सुरु गरिएको जानकारी दिए । धार्मिक, सांस्कृतिक र पर्यटकीय दृष्टिकोणले अत्यन्त महत्त्वपूर्ण मानिएको बुद्धको प्रतिमालाई एउटै ठूला ढुङ्गामा बनाइएको उनले बताए ।

८४ फिट अग्लो बुद्धको शिरको निर्माण कार्य पूरा भइसकेको र अन्य भागहरूको निर्माण तीव्र रूपमा भइरहेको जानकारी अध्यक्ष लामाले दिए ।

अध्यक्ष लामाका अनुसार एसियाकै अग्लो ढुङ्गामा कुँदिएको एकै टुक्राको बुद्ध प्रतिमा बन्ने लक्ष्यका साथ काम भइरहेको छ। परियोजनाको अनुमानित लागत ३ करोड रुपैयाँ रहेको र आगामी वर्षसम्म निर्माण सम्पन्न हुने लक्ष्य रहेको छ ।

पाँच पोखरी गाउँपालिका, बागमती प्रदेशको समन्वय  र राष्ट्रिय ललितकला प्रज्ञा प्रतिष्ठानको प्राविधिक पक्षको सहयोगमा बुद्धको प्रतिमा बनाउने काम भइरहेको छ।

‘विश्वका धेरै ठूला बुद्धका प्रतिमा टुक्रा–टुक्रा ढुङ्गा जोडेर बनाइएका छन् । हामी भने एउटै ढुङ्गा प्रयोग गरेर इतिहासमै पहिलो पटक यस्तो काम गर्दैछौं,’ उनले भने । उनले  धार्मिक पर्यटन प्रवर्द्धन गर्न, स्थानीयको आर्थिक समृद्धिमा टेवा पुर्‍याउन र पाँच पोखरी थाङ्पाललाई अध्यात्मिक भूमि र अन्तर्राष्ट्रिय गन्तव्यको रूपमा चिनाउन यो योजना अघि सारेको बताए ।

‘बुद्ध जन्मेको देशमा, बुद्धकै सन्देश फैलाउने हाम्रो अभियान हो,’ अध्यक्ष लामा भन्छन,’यो काम युगौँ युगसम्म इतिहासमा कायम रहने छ ।’ अध्यक्ष लामाले देश तथा विदेशमा रहेका नेपाली तथा श्रद्धालुहरूलाई आर्थिक सहयोग गर्न आग्रह गरे । उनले सहयोगीहरूको नाम शिलालेखमा राखिने उल्लेख गरे ।

विश्वभरका बौद्ध अनुयायीहरूलाई यस प्रतिमाले आकर्षण गर्ने उनले विश्वास व्यक्त गरे । गाउँपालिकाले प्रतिमा निर्माणपछि यस क्षेत्रलाई धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने योजना रहेको अध्यक्ष लामाले दाबी गरे ।

 

 

प्रकाशित मिति: शुक्रबार, साउन ३०, २०८२  ०९:११
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update