
काठमाडौं - बैङ्किङ फाइनान्स एण्ड इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपाल (बीएफआइएन)ले आफ्नो सातौँ वार्षिकोत्सवका अवसरमा अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गरेको छ ।
बिहीबार काठमाडौंको र्याडीसन होटलमा ‘विश्वव्यापी आर्थिक तथा प्राविधिक परिदृश्य: विकासलाई सुदृढ पार्ने, स्थिरता सुनिश्चित गर्ने र नवप्रवर्तनलाई अँगाल्ने’ शीर्षकमा अन्तर्राष्ट्रिय सम्मेलन सुरु गरेको हो । सम्मेलनमा सम्बोधन गर्दै राष्ट्रिय योजना आयोगका सदस्य डा.प्रकाश कुमार श्रेष्ठले आर्थिक क्षेत्रमा विश्वव्यापी रूपमा नै तनावको माहौल रहेको बताए ।
उनले विश्व बजारमा रुस–युक्रेन युद्ध चलिरहेकाले त्यसको असर नेपालमा अर्थतन्त्रमा पनि परेको औँल्याए । युद्धले अर्थ क्षेत्र र आर्थिक गतिविधिमा असर पारेको उनको भनाइ थियो । उनले भने, ‘सम्मेलनमा विश्वव्यापी परिदृश्य परिवर्तन र यसले आर्थिक क्षेत्रमा पार्ने असरको बारेमा चर्चा गर्नु जरुरी छ । आर्थिक क्षेत्रमा विश्वव्यापी रूपमा नै तनावको माहौल बनेको छ । रुस र युक्रेनको युद्ध अझै जारी छ, हासमा पनि युद्ध चलिरहेको छ । यो सबै कुराले पनि अर्थ क्षेत्र र आर्थिक गतिविधिमा पनि असर परेको छ ।’
यस्तै, उनले सूचना प्रविधिमा भइरहेको तीव्र परिवर्तनले पनि अर्थतन्त्रलाई नयाँ आकार दिइरहेको भन्दै यसले बैङ्किङ क्षेत्रलाई पनि असर पारेको बताए ।
उनले भने, ‘सूचना प्रविधिमा भइरहेको तीव्र परिवर्तन जस्तै एआई, रोबोर्ट जस्ता प्रविधिहरूले पनि हाम्रो अर्थतन्त्रलाई पुनः आकार दिँदैछ । आर्थिक गतिविधिमा कहिले समस्या सिर्जना गर्छ भने कहिले सहयोग पनि पर्छ । यस्तो तीव्र प्राविधिक परिवर्तनले हाम्रो बैङ्किङ क्षेत्रलाई पनि असर पारेको छ ।’
जलवायु परिवर्तनको असर विश्वव्यापी रूपमा रहेको र नेपाल पनि योबाट टाढा जान नसकेको भन्दै यसले नेपालको आर्थिक क्षेत्रलाई खतरामा पारेको पनि उनको भनाई छ । सम्मेलनमा सम्बोधन गर्दै अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसीमोड)की उप महानिर्देशक इजाबेला कोजिएलले जलवायु परिवर्तनका कारण अर्थतन्त्रमा असर पारेको बताइन् । इसिमोड र बिएफआइएनबिच सहकार्यका लागि नयाँ परियोजनामा सम्झौता भएकोप्रति खुसी व्यक्त गर्दै आर्थिक क्षेत्रमा केही सुधार गर्न सक्ने औँल्याइन् ।
उनले भनिन्, ‘इसिमोड र बिएफआइएनबिचको सम्झौताले आर्थिक क्षेत्रमा सहकार्यका साथ अगाडि बढ्न सहयोग गर्छ । आर्थिक रूपान्तरणमा महत्त्वपूर्ण भूमिका खेल्छ ।’
सम्मेलनमा बिएफआइएनका प्रबन्ध निर्देशक डा.विनोद आत्रेयले आर्थिक रूपान्तरण र आर्थिक सङ्कट समाधानमा सबैको सहयोग आवश्यक रहेको बताए । सम्मेलनमा नेपाल र विदेशका प्रतिष्ठित नीति निर्माताहरू, उद्योगी, व्यवसायी, बैंक एवं वित्तीय संस्थाका प्रतिनिधिहरू र विज्ञहरू सहभागी छन् ।
सम्मेलनले विश्वव्यापी अर्थतन्त्र र बैङ्किङ, वित्त र बिमाको भविष्यलाई आकार दिन प्रविधिको भूमिकाको बारेमा छलफल गर्दै छ । दिनभर चल्ने सम्मेलनमा विभिन्न क्षेत्रका विज्ञ र सरोकारवालाहरूबिच प्यानल डिस्कसन चल्नेछ । सम्मेलनमा नेपाल राष्ट्र बैंकका सञ्चालक समितिका सदस्यहरू चिन्तामणि सिवाकोटी र डा. रवीन्द्र प्रसाद पाण्डेलगायतले सम्बोधन गरेका थिए ।
सम्मेलनमा विश्वव्यापी आर्थिक र प्राविधिक परिदृश्यमा रहेका महत्त्वपूर्ण मुद्दाहरू, नवप्रवर्तनका रणनीतिहरूमा छलफल केन्द्रित हुनेछ ।