
काठमाडौं - नेपालको संग्रहालयका विभिन्न आयाम उल्लेख गरी संकलन भएको जर्नल विमोचन भएको छ । नारायणहिटी दरबार संग्रहालयमा आयोजित एक कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले मंगलबार यसको विमोचन गरेका हुन् ।
मन्त्री पाण्डेले यो जर्नल प्रकाशन उत्कृष्ट प्रयास भएको बताउँदै यसको प्रकाशनमा निजी क्षेत्रको सहयोग स्वीकार्य रहेको भन्दै सहभागिताको प्रशंसा गरे । मन्त्री पाण्डेले हाल संग्रहालयहरूको दर्ता, मापदण्ड तथा व्यवस्थापनका सम्बन्धमा सरकारले नीतिगत तहमा काम गरिरहेको जानकारी दिए । उनले नेपालका संग्रहालय र त्यहाँ राखिएका सामग्रीले नेपालीको गर्व बढाएको बताए ।
‘कला र संस्कृति हाम्रा पहिचान हुन्, यसको संरक्षण गर्नु हामी सबैको कर्तव्य हो । संस्कृति र सम्पदाको प्रवद्र्धन गर्न आइकम नेपालसँगको सहकार्यमा सार्वजनिक निजी साझेदारीअन्तर्गत यो महत्वपूर्ण कार्यक्रम गर्न पाएकामा हामी खुसी छौं’ एनसेलकी कर्पोरेट कम्युनिकेशन एन्ड सस्टेनेबिलिटी डाइरेक्टर विशाखा लक्ष्मी खड्काले भनिन् ।
त्यस अवसरमा नेपालका लागि युनेस्कोका प्रतिनिधि याको दु तोइले सांस्कृतिक प्रवद्र्धन, सामुदायिक छलफल र शिक्षाका लागि नेपालका संग्रहालयले भूमिका खेलेको उल्लेख गर्दै संग्रहालय संस्कृतिको थप विकास गर्नुपर्ने आवश्यकता औँल्याए ।
इन्टरनेशनल काउन्सिल फर म्युजियम (आइकम) नेपालका अध्यक्ष रमेशप्रसाद दवाडीले आइकमले नेपालमा संग्रहालयको दायरा फराकिलो पार्दै संस्कृति संरक्षणमा काम गर्ने बताए ।
उक्त जर्नल एनसेल फाउण्डेशनको सहयोगमा अन्तर्राष्ट्रिय संग्रहालय परिषद्को नेपाल शाखा आइकम नेपालले नारायणहिटी दरबार संग्रहालयसँगको साझेदारीमा सञ्चालन गरेको एक वर्षे परियोजना ‘संग्रहालयमार्फत संस्कृति र सम्पदाको प्रवद्र्धन’ अन्तर्गत प्रकाशन गरिएको हो ।