
काठमाडौं - अन्तर्राष्ट्रिय ख्याति प्राप्त उत्प्रेरक वक्ता डा. उज्जवल पाटनीले आगामी भदौ १२ गते राजधानीको होटल म्यारीयटमा बिजनेस ब्लु प्रिन्ट नेपाल कार्यक्रममार्फत नेपाली व्यवसायी समुदायसँग प्रत्यक्ष संवाद गर्ने भएका छन् । कार्यक्रममा नेपालभरका व्यवसायी, युवा उद्यमी, स्टार्टअप संस्थापक तथा उद्योगीहरूको उल्लेखनीय उपस्थिति रहने अपेक्षा गरिएको छ ।
व्यावसायिक सफलता प्राप्त गर्ने खाका, नेतृत्व क्षमता विकास, बिक्री रणनीति, ब्रान्ड निर्माण तथा आधुनिक व्यवसाय सञ्चालनका व्यावहारिक पक्षहरूमा केन्द्रित रहने कार्यक्रमको मुख्य प्रायोजक शिवम् सिमेन्ट रहेको छ ।
काठमाडौंमा पत्रकार सम्मेलन गरेर कार्यक्रमका संयोजक तथा जिनियस टल्क्सका प्रबन्धक कृष्ण शाहले डा. पाटनीले भारतसहित विभिन्न देशमा १० हजारभन्दा बढी यस्ता सेमिनार सम्पन्न गरिसकेको जानकारी दिँदै यो काठमाडौंको पहिलो शो भएको बताए। उनका अनुसार यस्ता कार्यक्रमहरूले नेपाली व्यवसायमा नयाँ सोच र प्रेरणा भर्ने विश्वास लिइएको छ ।
शिवम् सिमेन्टका सेल्स एण्ड मार्केटिङ हेड निखिल अग्रवालले व्यावसायिक क्षेत्रमा विज्ञहरूको अनुभव र मार्गदर्शनबाट ठूलो लाभ हुने उल्लेख गर्दै कम्पनीले यस्ता ज्ञान–केन्द्रित कार्यक्रममा सहकार्य गर्न तयार रहेको बताए ।
भारत र अन्य देशमा सफल साबित भइसकेको ‘बिजनेस ब्लु प्रिन्ट’ कार्यक्रमको नेपाल संस्करणले व्यावसायिक समुदायलाई सशक्त, सचेत र रणनीतिमूलक बनाउन महत्त्वपूर्ण योगदान पुर्याउने आयोजकको दाबी छ ।
सहभागीहरूले कार्यक्रममार्फत व्यावसायिक सफलता हासिल गर्न आवश्यक रणनीति, कार्यान्वयनका उपाय र उत्प्रेरणादायी विचारहरू प्रत्यक्ष रूपमा सिक्ने अवसर पाउनेछन् ।