
मुगु - नेपाल–चीन सीमामा पर्ने मुगुको उत्तरी क्षेत्र नाक्चेलाग्ना नाका दुई साताका लागि खुल्ने भएको छ । कोरोना महामारीले थलापारे पछि बन्द रहेको नाक्चेलाग्ना नाका गत वर्ष झैँ यस वर्ष पनि साउन २५ गते देखि भदौ ७ गते सम्म सञ्चालमा आउने भएपछि मुगु बासी र चिनियाँ नागरिकहरुबीच दैनिक उपभोग्य वस्तुलगायत अन्य वस्तुको कारोबार हुने भएको छ ।
चीन र मुगुको कार्मारोङ गाउँपालिकाको साझा सहमतिमा गृह मन्त्रालयको निर्देशन अनुसार चीनको स्वशासित क्षेत्र ह्यजिमारमा दुई पक्षीय व्यापार मेलाका लागि नाका खुला हुन लागेको हो । यस क्षेत्रमा नेपालको तर्फबाट व्यापार गर्न जानको लागि नेपालीहरुले अनुमती पत्र लिनुपर्ने व्यवस्था छ ।
हाल सम्म २०३ जनाले नयाँ अनुमती र २६७ जनाले पुरानै अनुमती पत्रलाई नवीकरण गरी ५१५ जनाले अनुमती पत्र लिएको मगुका प्रमुख जिल्ला अधिकारी कमल प्रसाद पाण्डेले जानकारी दिए । उनका अनुसार त्यस क्षेत्रमा हुन सक्ने अवैध र आपराधिक गतिविधि नियन्त्रणका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गनरिने भएको छ ।
नाक्चेलाग्ना नाका नेपाल चीन जोड्ने सबै भन्दा छोटो र सहज नाकाको रुपमा रहेको भएपनि राज्यको प्राथमिकतामा पर्न सकेको छैन । यद्यपि, विगतमा हरेक वर्षको भाद्र महिनामा पनि यो नाका करीब दुई साताका लागि खुल्ने गरेको थियो । तर, कोरोना महामारीको समयमा बन्द भएर लामो समयसम्म खुल्न नसकेको नाका गत वर्ष देखि फेरि सञ्चालनमा आउन थालेको हो । दुई साताका लागि नाका सञ्चालनमा आउने भएपछि चीन तर्फको ह्याँजीमार बजारमा हाटबजार समेत लाग्ने भएको छ ।
यद्यपी, नेपाल तर्फ सडक सञ्जालको अवस्था राम्रो नहुँदा स्थानीयले हाट बजारमा किनेको सामान ल्याउन समेत ल्याउन समस्या भएको छ । स्थानीयहरुले अहिले चौंरी, घोडा, याक, भेडाबाट सामान ढुवानि गर्ने गरेका छन् । ह्याँजीमारमा सञ्चालन हुने हाटबजार भने कम्तीमा पनि ३ देखि ६ महिनाको लागि सञ्चालन गर्न नेपाल सरकारले पहल गरिदिए राम्रो हुने त्यहाँका स्थानीय जनप्रतिनिधीहरुले बताएका छन् ।
उक्त हाटबजारबाट मुगु, जुम्ला तथा हुम्लाका नागरिकले आफूहरूलाई वर्षभरि चाहिने मैदा , चामल, नुन, तेल छुर्पी, घिउ, विद्युतीय सामाग्री, जस्ता,पाता, सिमेन्टलगायतका निर्माण सामाग्री मिठाई, पेय पदार्थ, लत्ता कपडा, घरायसी सामग्री किनमेल गर्ने गर्दछन् । साथ स्थानीय व्यापारीले नेपालबाट , जडीबुटी, यार्सा, काठका लौरी ,स्याउ, आरु, चुली लगाएतका फलफूल तरकारी लगायतका सामग्रीहरु चिनियाँ व्यापारी पक्ष सँग सामानमै साट्ने तथा बेच्ने गर्दछन् ।
मुगुका स्थानीय व्यापारी च्यावा लामाका अनुसार यो नाका वर्षको एक पटक मात्र खोलिने गरिन्छ । तर, कम्तीमा ३ देखि ६ महिनासम्म नाका सन्चालनमा आए पछि निकै राहत हुने उनको भनाई छ । अहिले स्थानीय व्यापारीले रसुवा नाका बाट काठमाडौ, नेपालगंन्ज हुँदै सुर्खेत हुँदै मुगुमा चर्को मूल्य हाले सामान आयात गरिरहेको उनले बताए ।
मुगुको सदरमुकाम गमगढी देखि नाक्चेलाना नाका जोड्ने ८७ किमी लामो सडक विस २०६३ सालदेखि निर्माण सुरु भएको भए पनि हाल सम्म १७ किलोमिटर मात्र ट्रयाक खोलिएको छ । यसका लागि हाल सम्म करीब १८ करोड रुपैयाँ खर्च भइसकेको छ ।