काठमाडौं - यही भाद्र ६ गतेदेखि प्रदर्शनमा आउन लागेको ‘माग्ने राजा’को मुख्य भूमिकामा रहेका कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ले देशको वर्तमान अवस्थालाई उजागर गर्ने प्रयत्न स्वरुप फिल्म बनेको दाबी गरेका छन् ।
घिमिरेको पहिलो मूख्य भूमिका भएकाले पनि सिनेमा कस्तो होला भन्ने कौतुहलता रहेकैबेला नेपाल न्यूज बैंकसँगको कुराकानीमा उनले फिल्मले गहन सन्देश बोकेको दाबी गरेका हुन् ।
बिहीबार फिल्मको ट्रेलर सार्वजनिकपछि बोल्दै उनले फिल्ममा गाउँले र सहरीया जीवन दुबै भूमिका आफू बाँधिएको बताउँदै अहिले टोल टोलमा देखिने राजाको बारेमा फिल्मले बोलेको प्रतिक्रिया दिए ।
उनले भने, ‘फिल्लमा दुई प्रकारको मेरो भूमिका छ । एउटा गाउँले जीवन र अर्को सहरीया जीवनको कथा छ । फिल्ममा पैसा कमाएपछिको अवस्था र देशको परिस्थितिको बारेमा देखाइएको छ । फिल्मले गहन सन्देश दिन्छ । त्यो अवश्य जनताहरुले पनि बुझ्नुहुनेछ र देशमा भएको परिस्थिति थाहा पाउनुहुनेछ । टोल टोलमा रहेका राजा र अहिलेको भोगाई फिल्मले बोकेको छ ।’
फिल्ममा मुख्य पात्रको रुपमा रहेकी वर्षा सिवाकोटीले मान्छेसँग शक्ति भएपछि के के गर्न सकिन्छ भनेर देखाउन राजनीति शक्ति प्रयोग भइरहेको विषय र सम्बन्धित कथाबस्तु फिल्ममा रहेको बताइन् ।
उनले भनिन्, ‘फिल्ममा अलिकति राजनीतिक कुराहरु पनि आएको छ । आफू सम्पन्न भएको पात्रले देशको लागि के–के गर्न सक्छ, शक्ति भएपछि के–के गर्न सकिन्छ भनेर देखाउँदा उ राजनीतिमा पनि छिरेको देखिन्छ ।’
यस्तै, उनले फिल्ममा एउटा भुइँमान्छे देखेको ठूलो सपना पूरा भएपछि उसले कस्तो जीवन जिउँछ, सपनालाई कसरी सम्हाल्छ भन्ने कुरा कुरा देखाइएको बताइन् । उनले आफूले उक्त पात्रका विषयमा सहायक भूमिका निर्वाह गरेको बताइन ।
उनले भनिन्, ‘यो फिल्ममा केदार दाइको सपनाको संसार छ । जुन सम्भव हुदैँ गइरहेको अवस्थामा उहाँलाई साथ दिने खालको मेरो भूमिका छ । फिल्ममा भुइँ मान्छेको कथा छ । जसले एउटा ठूलो सपना देखेको हुन्छ र त्यो सपना पूरा भएपछि उसले कस्तो जीवन जिउँछ, सपनालाई कसरी सम्हाल्छ भन्ने कुरा देखाइएको छ ।’
ऋषि लामिछानेको निर्देशनमा निर्माण भएको ‘माग्ने राजा’को तीन मिनेट ४० सेकेन्ड लामो ट्रेलर विहीबार सार्वजनिक समारोहमा केदार र बर्षाले आफ्नो अनुभव सुनाएका हुन् । फिल्ममा मुख्य कलाकारमा केदारसहित वर्षा, विल्सनविक्रम राई, शिशिर वाङ्देल, शारदा गिरीलगायत छन् ।