Harsamaya
रसुवा बाढीको प्रभाव : व्यापारीलाई चीनबाट सामान आयात गर्नै सकस
तिब्बतको लेहेन्दे खोला हुँदै भोटेकोशीमा आएको बाढीका कारण नेपाल–चीन जोड्ने मित्तेरी पुल बगाएसँगै उत्तरी छिमेकतर्फको प्रमुख व्यापारिक नाका रसुवागढी ठप्प ।

काठमाडौं - गत असार २४ मा तिब्बतको लेहेन्दे खोला हुँदै भोटेकोशीमा आएको बाढीका कारण नेपाल–चीन जोड्ने मित्तेरी पुल बगाएसँगै उत्तरी छिमेकतर्फको प्रमुख व्यापारिक नाका रसुवागढी ठप्प छ ।

यो नाका ठप्प भएसँगै चीनबाट सामान आयात गर्ने व्यापारीहरूलाई सामान आयात गर्नै सकस हुन थालेको छ । नेपाल हिमालय सिमापार वाणिज्य संघका महासचिव रामचन्द्र पराजुलीका अनुसार रसुवागढीबाट चीनसँग हुने व्यापार विच्छेद भएपछि नाकामा अड्किएका सामान बोकेका कन्टेनरहरू अहिलेसम्म पनि अस्तव्यस्त अवस्थामा छन् ।

कतिपय सामान तातोपानी नाकातर्फ पठाइएको भएपनि अहिलेसम्म नेपाल आउन नसकेको उनले बताए । ‘लत्ता कपडा, फलफूल लगायत करोडौं रूपैयाँको सामान अहिलेसम्म पनि नाकामै रोकिएको छ । विशेषगरी तीज, दशैं र तिहारका लागि आयात गर्न लागिएका सामानहरू नाकामै रोकिएका छन् । अबको केही दिन भित्र ती वस्तुहरू नेपाल ल्याउन नसके सिजन आउट हुनुका साथै कुनै सामानहरू कुहिने, षड्ने वा बिग्रेर जाने सम्भावना रहेको छ,‘उनले भने ।

विशेषगरी चीनबाट आयात हुने स्याउ, लसुन, ओखर लगायत रेडिमेड कपडाहरू आयातामा समस्या भएपछि त्यसले चाडपर्वमा यी वस्तुको मूल्य बढ्न सक्ने सम्भावना रहेको उनले बताए ।

अहिले तातोपानी नाकाबाट नेपाल–चीन जोड्ने बाटोमा पनि भोटेकोशी गाउँपालिका-२ कोदारीमा गएको पहिरोले एक सातादेखि यातायात अवरुद्ध हुँदा तातोपानीबाट हुने व्यापारिक कारोबार समेत प्रभावित भएको छ । यसले व्यवसायीहरूलाई समान आयात गर्न झनै सकस भएको छ ।

प्रकाशित मिति: बिहीबार, साउन २२, २०८२  १३:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update