Harsamaya
आयातलाई व्यवस्थापन गर्न नसक्दा सुनको नियमनमा समस्या : कुमार दाहाल

काठमाडौं - वाणिज्य आपूर्ति तथा  उपभोक्ता संरक्षण विभागका महानिर्देशक कुमार प्रसाद दाहालले आयातलाई व्यवस्थापन गर्न नसक्दा सुनको नियमनमा समस्या आएको बताएका छन् । मंगलबार इकोनोमिक मिडिया एसोसिएसन नेपाल (इमान) ले आयोजना गरेको राउन्ड टेबल कार्यक्रममा बोल्दै उनले सुनको समस्या न्यूनीकरणका लागि आयातलाई व्यवस्थापन गर्नुपर्ने बताएका हुन् ।

उनले भने,‘सर्वप्रथम सुनलाई हामीले जबसम्म व्यवस्थापन गर्न सक्दैनौ । तबसम्म यसको समस्या उपभोक्ताहरूसँग सधैँ भइरहन्छ । जबसम्म आयातलाई व्यवस्थापन गर्न सकिँदैन अथवा नियमन गर्न सकिँदैन । तस्करी भन्दिन यो शब्दलाई मैले । यो अवसरवाद हो ।’ उनले नेपालमा सुनका उद्योग नभएकोले पनि सुन व्यवसायमा समस्या आएको बताए । ‘हामी काँचो सुन प्रयोग गर्दैनौ । काँचो सुन देवी, देवता, मन्दिरमा काँचो सुन प्रयोग गरे भयो तर उपभोग गर्ने सुन रूपान्तरण गरेर प्रयोग हुन्छ । नेपाल भित्र सुनका उद्योग कति छन् ? छदै छैन । त्यो मर्मत केन्द्र भनेको उद्योग हैन । उद्योग विभागमा दर्ता भएर कुनै कच्चा पदार्थलाई ३० प्रतिशत भन्दा बढी मूल्य जोडिसकेपछि त्यो उद्योगमा जान्छ र आफ्नो टे«ड अनुसार मूल्य पाउँछ ।’ उनले भने ।

यस्तै, परम्परादेखि नै नेपाली समाजमा सुनलाई विशेष महत्त्व दिइँदै आएको छ । फलाम, चाँदी, आल्मुनियम जस्ता धातुहरूभन्दा सुनको मूल्य महँगो हुनुको कारणबारे अर्थविद् चन्द्रमणि अधिकारीले रोचक तर्क प्रस्तुत गरेका छन् ।

उनले भने, ‘सुन न सड्ने, न खिया लाग्ने धातु हो । अरू धातुजस्तो बिग्रिने समस्या नहुने हुँदा पनि यसको मूल्य उच्च छ । साथै, सुन शरीरमा सुहाउँदो हुने र दीर्घकालसम्म टिक्ने भएकाले पनि यसको माग बढी हुने गरेको छ ।’

उनले संस्कार, विवाह, पूजापाठदेखि सामाजिक प्रतिष्ठासम्म सुनको प्रयोग हुँदै आएको र महँगो सामग्रीसँग साट्न थालिएपछि यसको महत्त्व झनै बढेको बताए । यसरी सामाजिक, सांस्कृतिक र भौतिक दृष्टिकोणबाट हेर्दा सुनको महत्त्व उच्च रहँदै आएको र यही कारणले यसको मूल्य पनि लगातार बढ्दै गएको अधिकारीले बताए  ।

 

प्रकाशित मिति: बुधबार, साउन २१, २०८२  १०:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update