Harsamaya
ईको पहिरो व्यवस्थापनका लागि बजेट माग्दै सिंहदरबार पुग्यो भोटेकोशी गाउँपालिका 
मन्त्री देवेन्द्र दाहाल र पालिका अध्यक्ष पासाङ नोर्बु शेर्पा ।

काठमाडौं - भोटेकोशी गाउँपालिकाले अरनिको राजमार्ग अन्तर्गतको कोदारी खण्डको ईको पहिरो व्यवस्थापनको लागि बजेट विनियोजन गरिदिनुहुन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई आग्रह गरेको छ । 

सोमबार पालिका अध्यक्ष पासाङ नोर्बु शेर्पासहितको टोलीले मन्त्री देवेन्द्र दाहाललाई भेटेर अरनिको राजमार्ग अन्तर्गतको कोदारी खण्डको इको पहिरो तत्काल रोकथाम र पूनः निर्माणमा पर्याप्त बजेट विनियोजन गरि काम शुरु गर्न आग्रह गर्दै ज्ञापनपत्र बुझाएको हो । 

इको पहिरोले दैनिक सडक अवरुद्ध गर्दा समस्या भएको पालिका अध्यक्ष शेर्पाले बताए । निरन्तरको वर्षाले गर्दा ईको पहिरोले प्रत्येक वर्ष राजमार्गमा दुख दिने गरेको छ । 

पछिल्लो समय रसुवा नाका बन्द भएसँगै तातोपानी नाकाबाट आवत जावत वृद्धि भएको छ । रसुवा नाका भइ चीन गएका व्यवसायी, मानसरोवर जाने तिर्थयात्री र मितेरी पुल पारी अड्किएको सामग्रीहरु यसै राजमार्ग भइ काठमाडौं जाने हुँदा सवारी चाप निकै बढेको शेर्पाले बताए । 

‘पहिरोले गर्दा प्रत्येक दिन हजारौ पर्यटक, सयौं मालबाहक कन्टेनर, यात्रुवाहक वस / जिप लगायतको आवतजावतमा कठिनाइ हुनुका साथै राज्यलाई करोडौं रुपैयाको राजश्व असुलीमा समेत असर परेको छ। उक्त इको पहिरोका कारण माथिल्लो भेगमा रहेको बस्तीका सयौं घरहरु जोखिममा पर्नुका साथै कुनै पनि बेला ठुलो विपद निम्तिन सक्ने खतरा बढेर गएको छ’, मन्त्रीलाई बुझाएको पत्रमा भनिएको छ ।

भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवागढी नाका र चीन जोड्ने मितेरी पुल बगाउँदा रसुवा नाका पूर्ण रुपमा बन्द भएको छ । अहिले अरनिको राजमार्ग चीनसंग जोड्ने एकमात्र विकल्प बनेको छ । 

प्रकाशित मिति: सोमबार, साउन १९, २०८२  २१:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update