Harsamaya
प्रधानमन्त्री ओली तुर्केमेनिस्तान प्रस्थान
प्रधानमन्त्री केपी शर्मा ओली तुर्केमेनिस्तान प्रस्थान ।

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओली तुर्केमेनिस्तानको औपचारिक भ्रमणमा प्रस्थान गरेका छन् । आवाजमा आयोजना हुने तेस्रो ‘यूयन कन्फ्रेन्स ल्यान्ड लोकेड डेभलमेन्ट्न्स् कन्ट्रीस’ (एलएलडी सी–३) मा सहभागी हुन नेपाल सरकारको नेतृत्व गर्दै ओली आइतबार राति त्यस तर्फ प्रस्थान गरेका हुन् । 

तुर्कमेनिस्तानका राष्ट्रपति सेरदार बेरदिमुहामेदोभ र संयुक्त राष्ट्रसङ्घका महासचिव महामहिम एन्टोनियो गुटेरेसको औपचारिक निमन्त्रणामा यही साउन २० देखि २३ गतेसम्म आयोजना हुने सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री ओली त्यहाँ जान लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

सम्मेलनमा कम विकसित राष्ट्रहरूको विश्वव्यापी समन्वय ब्युरोको अध्यक्षका रूपमा समेत  प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । उनले सम्मेलनको एक उच्चस्तरीय गोलमेच बैठकको सह–अध्यक्षता गर्नुका साथै अन्य विविध कार्यक्रममा पनि सम्बोधन गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।

 प्रधानमन्त्री ओलीले विभिन्न देशका प्रतिनिधिमण्डल प्रमुखसँग र संयुक्त राष्ट्रसङ्घ तथा अन्य अन्तर्राष्ट्रिय संस्थाका उच्चपदस्थ पदाधिकारीसँग भेटवार्ता गर्नेछन् । उनको भ्रमण टोलीमा श्रीमती राधिका शाक्य, प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमाल, सङ्घीय संसद्का सदस्य सूर्यबहादुर थापा क्षेत्री र उच्चपदस्थ सरकारी अधिकारीहरूसमेत सहभागी हुनेछन् । प्रधानमन्त्री ओली साउन २३ गते स्वदेश फर्किने कार्यक्रम छ ।

प्रकाशित मिति: सोमबार, साउन १९, २०८२  ०७:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update