काठमाडौं - लामो समयदेखि विदेशिने युवाशक्तिलाई रोक्ने र उनीहरूलाई स्वदेशमै उद्यम गर्न उत्प्रेरित गर्ने उद्देश्यसहित ‘ब्रेन ड्रेन टु ब्रेन गेन’ अभियान सुरु गरिएको छ। हिमानी कोष र इन्टरनेशनल क्लबको सहकार्यमा शनिबारबाट सुरु भएको यो कार्यक्रमले युवालाई नेपालमै व्यवसायिक सफलताको बाटो देखाउने दाबी गरेको छ।
सानेपास्थित इन्टरनेशनल क्लबमा आयोजित उद्घाटन कार्यक्रममा पूर्वराजा ज्ञानेन्द्र शाह, कोषकी अध्यक्ष हिमानी शाहसहित राजपरिवारका अन्य सदस्यहरूको उपस्थिति रहेको थियो। ‘स्वदेश फर्क, स्वदेशै स्वर्ग’ भन्ने नारा बोकेको अभियानले स्वदेश फर्केका वा फर्कन चाहने युवाहरूलाई आत्मनिर्भर बन्न प्रोत्साहित गर्ने लक्ष्य लिएको छ।
हिमानी कोषका अनुसार, अभियानअन्तर्गत नव-उद्यमीहरूका लागि ‘माइक्रो-सिडिङ रिभल्भिङ फन्ड’ स्थापना गरिनेछ, जसले उनीहरूलाई प्रारम्भिक पुँजी उपलब्ध गराएर व्यवसाय सुरु गर्न सहजीकरण गर्नेछ।
कार्यक्रममा देशभरका नव-उद्यमीहरू, उद्योगी तथा व्यवसायीहरूको सहभागिता देखिएको छ। उनीहरूले आफ्ना अनुभव साटासाट गर्दै युवा पुस्तालाई प्रेरित गरेका छन्। साथसाथै, व्यावसायिक स्टलहरू, नेटवर्किङ सेसन र मनोरञ्जनात्मक गतिविधिहरूले पनि कार्यक्रमलाई जीवन्त बनाएका छन्।
यो अभियानले नेपालको उद्यमशीलता संस्कृतिमा नयाँ ऊर्जा भर्ने अपेक्षा गरिएको छ । जहाँ अब विदेश जाने होइन, स्वदेशमै केही गर्ने सपना देख्ने युवाहरूको संख्या बढ्दै जान सक्छ