Harsamaya
गम्भीर आरोप लागेपछि ब्लु डाइमन्ड सोसाइटीले भन्यो : एजेन्डामा काम गरौं, इगो र कुण्ठा होइन
पूर्वसांसद सुनीलबाबु पन्तको र ब्लु डाइमन्ड सोसाइटीबीचको छलफल ।

काठमाडौं - भ्रष्टाचार र विकृति फैलाएको आरोप लागेपछि यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको हक अधिकारका लागि क्रियाशील संस्था ब्लु डाइमन्ड सोसाइटीले समूदायका एजेन्डाभन्दा पनि व्यक्तिगत इगोमा केन्द्रित भएर आरोपहरु लागेको प्रतिक्रिया दिएको छ ।

बुधबार पूर्वसांसद सुनीलबाबु पन्तको नेतृत्वमा सोसाइटीको कार्यालय घेराउ गर्न पुगेका अर्को संस्था ‘मायाको पहिचान’का सदस्यहरुबीचको छलफलमा भ्रष्टाचार र विकृती फैलाएको आरोप लागेपछि सोसाइटीका पदाधिकारीहरुले कुन्ठा र इगो व्यक्त गरेर समूदायको मुद्दा स्थापित नहुने प्रतिक्रिया दिएका हुन् । 

छलफलका क्रममा उठाइएका सवालहरू संस्थाको औपचारिक एजेन्डा भन्दा व्यक्तिगत गुनासोमा केन्द्रित भएको उनीहरुको प्रतिक्रिया थियो । 

छलफलमा सहभागीहरूले संस्थामा सदस्यता नपाएका व्यक्तिलाई बोर्डमा समावेश गर्नुपर्ने माग राखेको तर नेतृत्वले उक्त माग असंवैधानिक भन्दै अस्वीकार गरेका थिए । छलफलमा सहभागी भक्ति शाहका अनुसार संस्थाको विधान र सदस्यता सम्बन्धी नीति भन्दा बाहिर गएर सदस्यता दिन नसकिने भनेर पदाधिकारीहरुले जवाफ दिनुभएको छ । प्ले कार्डसहित सदस्यता माग गर्न आउनुभएकाले विधानबाहेकका मागहरू संस्थागत प्रक्रियाविपरीत हुने छलफलमा कुरा उठेको थियो । 

असन्तेष्ट पक्षका केही कर्मचारीहरूले परियोजना सकिएपछि निरन्तरता नदिइएको गुनासो गरे पनि पदाधिकारीहरूले परियोजनाका शर्त, समयावधि र आवश्यकता अनुसार मात्रै संलग्नता रहने, र संस्थाको प्राविधिक पक्ष भएको प्रतिक्रिया दिएको शाहले जानकारी दिए । व्यक्तिगत गुनासोलाई संस्थागत रूप दिन नहुने सोसाइटीका पदाधिकारीहरुको भनाइ थियो । 

पूर्वसांसद पन्तले संस्थाको कार्यक्रम सुकुटेबीचमा गएर गरेको भन्दै आपत्ति जनाए । कार्यालयमा गर्न मिल्ने कार्यक्रमहरु बाहिर होटल रिसोर्टमा गएर गर्दा अनावश्यक खर्च गरेको उनको भनाई छ । 

तर उक्त परियोजना आफैँमा विशेष प्रकृतिको रहेको र दातृ संस्थाको मापदण्ड अनुसार काम भइरहेको स्पष्टीकरण सोसाइटीका पदाधिकारीहरले दिएका थिए । मानसिक स्वास्थ्य र वेलनेस रिट्रीट आजको परिवेशमा समुदायको मनोसामाजिक अवस्था सुधार गर्न अत्यन्त आवश्यक कार्यक्रम भएको उनीहरुको भनाइ थियो । 

सोसाइटीकी अगुवा पिंकी गुरुङको भनाइलाई उदृत गर्दै शाहले दिएको जानकारी अनुसार व्यक्तिगत असन्तुष्टि वा बाह्य प्रभावबाट भन्दा पनि संस्थाको नियम, विधान र दीर्घकालीन दृष्टिकोणलाई प्राथमिकता दिइने जनाइएको छ । 

आलोचना र गुनासो स्वागतयोग्य रहेपनि संस्थाको अस्तित्वमा दाग र सेवा प्रभावमा बाधा पुग्ने कार्य गर्नु कुनैपनि संस्था व्यक्तिको अधिकार क्षेत्रभित्र नपर्ने साथै मानव अधिकार विरुद्ध भएको पदाधिकारीहरुको प्रतिक्रिया थियो ।

सोसाइटीले समलिंगी, तेस्रोलिंगी, अन्तरलिंगीको नाममा भ्रष्टाचार गरेको आरोप लागाउदैँ धुम्बाराहीस्थित कार्यालय घेराउ गर्न पुगेका असन्तुष्ट पक्षहरुलाई विना प्रमाण र आधारहीन आरोप नलगाउन अभियन्ता भूमिका श्रेष्ठको प्रतिक्रिया थियो । सामूहिक एजेन्डामा काम गर्न सबै एक ठाउँमा हुनुपर्ने उनको भनाइ थियो । 

 

प्रकाशित मिति: बुधबार, साउन १४, २०८२  २०:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update