
काठमाडाैं - नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजा गरी मनाइँँदै छ । यो पर्व प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीको दिन मनाइन्छ । श्रावण शुक्ल पञ्चमी अर्थात् आज नाग पञ्चमीमा नाग वा सर्पको पूजा गरिन्छ । आज बिहानै उठी स्नान गरी दियो, कलश, गणेश भगवानको पूजा गरी आफ्ना घरको ढोकाको दुवै तर्फ गाईको गोबरले विषालु सर्पको चित्र लेखेर टाँस्नु पर्दछ ।
नागको पूजा गरी नागको चित्र घरको मूल ढोकामा टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिने जनविश्वास छ। साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने विश्वास गरिन्छ ।
भाद्र, असोज र कार्तिकमा पूर्व, मङ्सिर, पुस र माघमा दक्षिण, फाल्गुन, चैत्र र वैशाखमा पश्चिम, जेठ, असार र साउनमा उत्तर दिशामा नागको शिर हुन्छ । आज नाग पञ्चमी साउन महिनामा परेको हुनाले नागको शिर उत्तर दिशामा सम्झी पूजा गर्नु पर्दछ । आज बिहान ८ बजेर ४८ मिनेटदेखि १० बजेर २९ मिनेट सम्म लाभ बेला र १० बजेर ३० मिनेटबाट मध्यान्ह १२ बजेर ९ मिनेट सम्म अमृत बेला रहेकोले यो समयमा नाग टाँस्नु शुभ मानिन्छ ।