ललितपुर - उनी हुन पूर्ण स्थापित । जसले लगनखेलको बटुक भैरव मन्दिर अगाडिको लिच्छवी कालिन इतिहास बोकेको सप्त पाताल पोखरीको संरक्षण र अतिक्रमण भएको जग्गा फिर्ताको लागि १५ वर्षदेखि निरन्तर कानुनी लडाई लडे । अन्ततः उनले यस लडाइमा विजय समेत हासिल गरे । सर्वोच्च अदालतले नमुना मच्छिन्द्र माविको नाममा रहेको पोखरीको दर्ता खारेजी गरेपछि लिच्छविकालीन इतिहास बोकेको उक्त पोखरी अहिले आकर्षक शैलीमा पुनर्निर्माण भइरहेको छ ।
पुनः निर्माणसँगै वरिपरि हरियाली रुख तथा फूलहरू रोप्ने काम भइरहेको छ । यो पुनर्निर्माणसँगै सप्त पाताल पोखरीको १५ वर्षपछि मुहार फेरिँदै छ । वि.सं २०३४ सालमा स्थापना भएको नमुना मच्छिन्द्र स्कुलको नाममा पोखरीको केही भाग दर्ता गरिएको थियो । पोखरी स्कुलको नाममा दर्ता भएपछि दर्ता खारेजीको माग गर्दै पोखरी संरक्षक स्थापितको नेतृत्वमा स्थानीयहरूले सर्वोच्च अदालतमा निवेदन दिएका थिए । २०६१ माघ ८ गते सर्वोच्चले जग्गा पोखरीकै भएको फैसला गर्यो भने २०७६ असारमा नमुना मच्छिन्द्रको नाममा दर्ता भएको जग्गाको लालपुर्जा पनि बदर गरी पोखरीको नाममा पुर्जा दिन आदेश दिएसँगै पुनर्निर्माणको काम अगाडि बढ्यो ।
उनले भने,‘२०२२ मा नमुना मच्छिन्द्र स्कुल स्थापना भयो र २०३४ मा २७ जिल्लामा मालपोत ऐन लागू भयो । त्यही साल फागुनमा पोखरीको केही भाग स्कुलको नाममा दर्ता गरिएको थियो । पोखरी स्कुलको नाममा दर्ता भएपछि हामीले दर्ता खारेज गरिपाऊँ भन्दै सर्वोच्च अदालत गएका थियौँ । ०६१ माघ ८ मा सर्वोच्चले जग्गा पोखरीकै भएको फैसला गरिदियो,’उनले भने । ६० सालमा नियोजित रुपले नगरपालिकाले जग्गा मिचेर डिपार्टमेन्ट स्टोर बनाउन लाग्दा त्यहाँको स्थानीयहरू जागरूक भई कानुनी प्रक्रियाको सङ्घर्ष सुरु गरेको उनी बताउँछन् । उनले भने,‘ ६० सालमा नियोजित रूपले नगरपालिकाले आँखा चिम्लिएर सात दोबाटोबाट मान्छे ल्याएर साक्षी राखेर नक्सा पास गरियो । नक्सा पास गरेर ६१ सालमा उनीहरूले डिपार्टमेन्ट स्टोर बनाउन आयो । हामी टोलका मानिस जागरूक भएर काम सुरु गरेका हौँ ।’
नमुना मच्छिन्द्र स्कुलले जग्गा मिचेर बनाएका टहरासमेत भत्काएर पोखरी पुनर्निर्माणको काम सुरु भएको छ । स्कुलले टहरा बनाएको जग्गासमेत थपेर ३५ रोपनी क्षेत्रमा पोखरी बन्दै छ । पोखरी जोगाउन १५ वर्ष सम्म कानुनी लडाई लडेका स्थापितले पोखरीको नाममा भएको लालपुर्जा ल्याउनको लागि प्रमाण जुटाउने धेरै सङ्घर्ष गर्नुपर्यो ।
‘यो पोखरी १९२० सालको भनेर १२० वर्ष अगाडि हस्तलिखित एउटा पत्रिकामा आएछ । त्यहाँबाट पनि एउटा प्रमाणित भयो, अर्को गुठीको प्रमाण छ । धार्मिक र गुठीको प्रमाण जुटाऔँ । जहाँ पिल्लर उठाइयो त्यहीबाट सुरु हुन्छ सप्त पाताल भनेर गुठीले चिठ्ठी लेखेको थियो । धेरै प्रमाण जोडिएको छ,’उनले भने,‘लालपुर्जा त छैन, परमादेश जारी भएको छ । फेरि लालपुर्जा लिन त्यस्तै प्रक्रिया छन् । बल्ल –बल्ल लालपुर्जा बनाएर ल्याइयो, नगरपालिकामा त्यही लालपुर्जाको आधारमा मेयर चिराबाबुले काम गरिदिनुभयो ।’
ललितपुर महानगर पालिकाले पोखरी पुनर्निर्माण गर्न चार करोड रुपैयाँ बजेटसमेत छुटाएको छ । ठेक्का सम्झौता अनुसार आगामी साउन ३० गतेसम्म पोखरी खनेर तयार पार्नु पर्नेछ भने माटो परीक्षण प्रतिवेदन समेत महानगरलाई बुझाउनुपर्नेछ । निर्माणाधीन पोखरीको अहिले डीपीआर तयार भएर पोखरी पुनर्निर्माण भइरहेको छ । पछिल्लो समय उनले सप्त पाताल जस्तै धेरै पोखरीहरूको पुनर्जीवित भएको बताउँदै सम्पदा संरक्षणमा पहिला–पहिलाभन्दा अहिले धेरै राम्रो भएको बताए ।
सप्त पाताल पोखरीको विशेषतामा बटुक भैरवनाथमा मछिन्द्रनाथको जात्रा सकिसकेपछि मांसावली यज्ञ गरेर स्वर्गका इन्द्रलाई पाटनको जात्रा सकियो है भन्न भंगेरा र माछालाई पूजा गरेर पुराण सुनाउने र भँगेरा वा माछा यही सप्तपातल पोखरीमा छाड्ने धार्मिक आस्था रहेको छ । उनका अनुसार परापुर्वककालदेखि नै सप्तपातल पोखरीको पानीमा स्नान गर्ने र पाटनभरिको मान्छे आएर भोज खुवाउनुपर्ने प्रचलित रहेको थियो । यस्तै विशेष धार्मिक महत्त्व भएको पोखरी भएका कारण पनि पोखरीको संरक्षण आफू लागि परेको धारणा राखे ।