Harsamaya
  राजेन्द्र केसी स्मृति हिमालयन ब्लिट्ज चेस शनिबारदेखि हुदैँ
राजेन्द्र केसी स्मृति हिमालयन ब्लिट्ज चेस सुरु हुँदै ।

काठमाडौं - हिमालयन चेस एकेडेमीको आयोजनामा ‘राजेन्द्र केसी स्मृति हिमालयन १०० एक्स टु ब्लिट्ज चेस प्रतियोगिता’ शनिबार हुने भएको छ । जहाँ २ सय खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

गत वर्ष अन्तर्राष्ट्रिय बुद्धिचाल महासंघ (फिडे) स्थापनाको शत बार्षिकीको अवसरमा हिमालयन १०० आयोजना गरिएको थियो, जहाँ १ सय खेलाडी सहभागी थिए । उक्त प्रतियोगिता फिडेको विश्वव्यापी अभियानअन्तर्गत गिनिज वल्र्ड रेकर्डमा दर्ता भएको थियो । त्यसैको दोस्रो संस्करण ‘राजेन्द्र केसी स्मृति हिमालयन १०० एक्स टु’ को रूपमा सञ्चालन गर्न लागिएको हो ।

हिमालयन चेस एकेडेमीकी अध्यक्ष मोनालिशा खम्बूका अनुसार एक दिने प्रतियोगितामा खुलासहित १७ स्पर्धामा ६७ हजार रुपियाँ पुरस्कार, ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ ।

उनी भन्छिन्, ‘पहिलो संस्करणमा १ सय खेलाडीले प्रतिस्पर्धा गरेका थिए, यसपालि २ सय खेलाडी खेल्दै छन् ।  यो संख्याले  नेपालमा सबभन्दा बढी खेलाडी सहभागी हुने ब्लिट्ज चेस प्रतियोगिताको रेकर्ड बनाउनेछ ।’

नेपाल बिलियर्ड, स्नुकर तथा पुल संघका केन्द्रीय सदस्यसमेत रहेका राजेन्द्र केसी भोटे बहाल युवा क्लबका पूर्व अध्यक्ष पनि हुन् । उनको ४४ वर्षको उमेरमा २०७७ जेठ २५ गते देहान्त भएको थियो ।

उनकी धर्मपत्नी वन्दना खड्काले भनिन्, ‘उहाँ बालबालिकालाई एकदमै माया गर्नुहुन्थ्यो । त्यसैले उहाँको स्मृतिमा चेस प्रतियोगिता आयोजना गर्न लागिएको हो । यो प्रतियोगिताले बालबालिकालाई अनुशासित बन्नेसँगै बौद्धिक विकासमा सहयोग पुग्ने विश्वास गरेकी छु ।’

त्रिपुरेश्वरस्थित वोगनभिल्लामा हुने खुलातर्फका विजेताले १० हजार, उपविजेताले ७ हजार र तेस्रो हुनेले ५ हजार पाउनेछन् । खुलातर्फ उत्कृष्ट १०, यू १५ मा शीर्ष ७ सहित सबै स्पर्धाका विजेताले नगद पुरस्कार पाउनेछन् । प्रतियोगितामा खुला, यू १५ बाहेक महिला, भेट्रान, फिडे रेटिङ १७०० मुनि, १५०० मुनि, अनरेटेड, यू १३, यू ११, यू ९, यू ७ र बेस्ट एचसीए स्पर्धा समावेश गरिएको छ । उमेर समूह र बेस्ट एचसीएमा गल्र्स र ब्वाइजका दुवै स्पर्धामा राखिएको छ ।

२०८० साल चैत १ गते स्थापित हिमालयन चेस एकेडेमीले आयोजना गर्न लागेको आठौँ  प्रतियोगिता हो राजेन्द्र केसी स्मृति हिमालयन १०० एक्स टु । उसले एसईई कप, हिमालयन १०० फर गिनिज वल्र्ड रेकर्डस, हिमालयन तीज चेस टोर्नी, प्यट्रिओटिक पन च्याम्पियनसिप, हिमालयन डुओ, हिमालयन ब्लिज कप र देशकै पहिलो फ्रिस्टाइल चेस प्रतियोगिता हिमालयन फ्रिस्टाइल च्याम्पियनसिप सफलतापूर्वक आयोजना गरेको थियो ।

चेसलाई प्रवर्द्धन र विकास गर्ने उद्देश्यले स्थापित हिमालयन चेस एकेडेमीले फ्रेसर, बिगिनर्स, एड्भान्स बिगिनर्स, इन्टरमिडियट र एड्भान्स गरी ५ वटा कोर्समा १ सय बढीलाई थापाथलीस्थित आफ्नै चेस हल र भक्तपुर शाखामा प्रशिक्षण दिइरहेको छ । भच्र्युअल रूपमा अनलाइन कक्षा नियमित भइरहेको छ । प्रत्येक वुधबार महिलालाई निःशुल्क प्रशिक्षण दिइरहेको छ । स्कुल र समुदायमा कार्यशाला तथा प्रशिक्षण सञ्चालन गर्दै आएको छ ।

एकेडेमीले कमनवेल्थ च्याम्पियन रहेका भारतीय इन्टरनेसनल मास्टर (आईएम) अतनु लहिरी ल्याएर खेलाडी र प्रशिक्षकलाई विशेष प्रशिक्षण पनि दिएको थियो ।

प्रकाशित मिति: मंगलबार, असार ३१, २०८२  ०८:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update