
काठमाडौं - साफ यू–२० महिला च्याम्पियनसिपमा नेपालले विजयी सुरुवात गरेको छ । शुक्रबार बंगलादेशमा भएको पहिलो खेलमा नेपालले भुटानलाई ६–१ को फराकिलो अन्तरले पराजित गरेको हो ।
नेपालको जितमा पूर्णिमा राईले ह्याट्रिक गरिन् ।
सेनुले नवौं मिनेटमा गोल गर्दै नेपाललाई अग्रता दिलाइन् । वर्षा ओलीको पासमा सेनुले बल अघि बढाउँदै पेनाल्टी बक्स बाहिरबाट विपक्षी गोलकिपरलाई चिप गर्दै गोल गरिन् ।
पूर्णिमाले १८औं मिनेटमा नेपालको अग्रता दोब्बर पारिन् । वर्षाले नै दायाँ भागबाट दिएको क्रसममा पूर्णियाले सिक्स यार्ड बक्सबाट वान टचमा गोल गरिन् ।
त्यसपछि सेनुले ४५औ् मिनेटमा गोल गर्दै नेपालको अग्रता ३-० पुर्याइन् । वर्षाले नै बक्स बाहिर दिएको पासमा सेनुले विपक्षी खेलाडीलाई छलाउँदै बल बक्स भित्र पुर्याएर व्यक्तिगत दोस्रो गोल गरिन् ।
दोस्रो हाफमा भुटानले गोल गर्दै खेलमा फर्कने संकेत गरेको थियो । केल्देन वाङ्मोले ५३औं मिनेटमा भुटानका लागि गोल फर्काइन् । तर नेपालले अझै गोल थप्यो ।
पूर्णिमाले ५३औं मिनेटमा गोल गरेपछि नेपालले ४-१ को अग्रता बनायो । पूर्णिमाले ८३औं मिनेटमा व्यक्तिगत तेस्रो गोल गर्दै ह्याट्रिक पूरा गरिन् । त्यसपछि ८८औं मिनेटमा पूर्णिमाले आफ्नो चौथो गोल गर्दै नेपाललाई ६-१ को अवस्थामा पुर्याइन् ।
डबल राउन्ड रोबिन लिग पद्धतिअनुसार हुने प्रतियोगितामा नेपालले जुलाई १३ र २१ मा बंगलादेशसँग, जुलाई १५ र १७ मा श्रीलंकासँग र जुलाई १९ मा पुनः भुटानसँग खेल्ने तालिका छ ।