
रौतहट - पशुहरूमा महामारीको रूपमा फैलिएको लम्पीस्किन रोगबाट चन्द्रपुर नगरपालिका क्षेत्रका पशुचौपाय मर्न थालेका छन् ।
केहि दिन अघि मात्र चन्द्रपुर नगरपालिका वाड नं. ८ मर्धरटोलका कृष्ण गौतमले पालेका गाई मरेका हुन् । लम्पी स्किन रोगको उपचार गर्दा गर्दै गौतमले पालेको गाई मरेको चन्द्रपुर नगरपालिका पशु शाखाका प्रमुख डा. सुलभ चौधरीले बताए ।
उनका अनुसार चन्द्रपुर वाड नं.४ मा २ वटा, वाड नं. ८ मा ४ वटा, १ मा १० वटा, वाड नं. २ मा २५ वटा, वाड नं. १० मा १० वटा गाईमा र वाड नं. ५ को एउटा भैँसीमा सो रोग संक्रमण देखिएको छ । यो तथ्याङक अझै बढ्न सक्ने उनले बताए ।
लम्पी स्किन रोगबाट सङ्क्रमित गाई भैँसीको दूध उत्पादनमा गिरावट आउनुका साथै उच्च ज्वरो आउने, तौल घट्ने र मर्ने लक्षण हुने उनको भनाइ छ । लम्पी स्किन गाई भैँसीलाई हुने सङ्क्रामक रोग हो । यो रोग लामखुट्टे, झिँगा र किर्ना जस्ता कीराको टोकाइबाट सर्ने गरेको डा.चौधरीले बताए ।
गर्मीयाममा लामखुट्टे र किर्ना आदिको सङ्ख्या बढ्ने र ती कीरा बढी सक्रिय हुने भएकाले यसको प्रकोप अझ बढी देखिने गरेको उनले बताए । चन्द्रपुर नगरपालिका पशु शाखाका अनुसार नगर क्षेत्रका ४४ वटा गाईभैंसीमा उक्त रोगको संक्रमण देखा परेको छ । महामारी फैलिँदै जाँदा कतिपय व्यावसायिक फार्महरूले आफैँले खोप किनेर समेत पशुमा लगाएको पाइएको छ । एक पशुलाई सो रोगविरुद्ध उपचार गर्नको लागी १० देखी १२ हजार सम्म खर्च लाग्ने समेत डा. चौधरीले जानकारी दिए ।
चन्द्रपुर वडा नं. ३ ले वडा कार्यालयको आफ्नै बजेटबाट करिब दुई हजार २ सय ५० वटा गाइ र भैँसीलाई लम्की स्किन रोग विरुद्धको भ्याक्सिन लगाइएको छ । त्यसैगरी वाड नं. ९ ले पनि आफ्नै बजेटबाट एक हजार ६ सय भन्दा बढी पशुलाई सो रोग विरुद्धको भ्याक्सिन लगाइसकेको छ । चन्द्रपुर नगर क्षेत्रमा गत बर्ष मात्र लम्पी स्किन रोगको कारण एक सय ६० वटा गाईभैंसी मरेको चन्द्रपुर नगरपालिका पशु शाखाको तथ्याङ्कमा छ । अहिले नगरभरिको पशुहरूलाई उक्त रोगविरुद्ध १० हजार थान खोप आवश्यकता रहेको पशु शाखाले जनाएको छ ।