-1751597259.jpg)
पोखरा - पोखरामा जारी गण्डकी प्रदेश दोस्रो महिला टी २० क्रिकेट प्रतियोगितामा कास्कीले नवलपुरलाई हराउँदा पर्वत र स्याङ्जाले अङ्क बाडेका छन् ।
प्रादेशिक क्रिकेट संघ गण्डकीको आयोजनामा जारी प्रतियोगिताको दोस्रो दिनको पहिलो खेलमा कास्कीले नवलपुरलाई ३९ रनले हराउँदै फाइनलको यात्रा तय गर्ने पहिलो टिम बनेको हो । ११८ रनको विजयी लक्ष्य दिएको नवलपुरलाई ७८ रनमै समेट्दै कास्कीले लगातार दोस्रो जित हासिल गरेको हो ।
नवलपुरले २० ओभरमा ७ विकेट गुमाउँदै ७८ रन मात्रै बनाउन सक्यो । नवलपुरका लागि यमुना पङ्गेनी ७ र वर्षा सुनार शून्यमा अविजित रहे । मोनिका लामिछाने २२, धनकुमारी क्षेत्री ८, लिजा गुरुङ शून्य, श्रेया शर्मा ४, आयुषा चापागाईँ ३, पूर्णिमा सुनार ७ र वर्षा सुनार शून्यमा आउट भइन् ।
कास्कीका लागि चन्द्रमाया बराल २ तथा श्रद्धा गुरुङ, रेखा तामाङ र रिया तामाङले समान १/१ विकेट लिए । त्यसअघि टस जितेर ब्याटिङ थालेको कास्कीले २० ओभरमा ४ विकेट गुमाउँदै ११७ रन बनायो । कास्कीका लागि रचना चौधरीले २५ र चन्द्रमाया बरालले १५ रनको अविजित पारि खेले । कप्तान सिर्जना पौडेल २७ रनमा आउट भइन् । उनले ३१ बलमा १ चौका प्रहार गरिन् । श्रद्धा गुरुङ ८, शिखा दवाडी १५, रेखा तामाङ २ रनमा आउट भइन् ।
नवलपुरका लागि यमुना पङ्गेनीले २ तथा श्रेया शर्मा र आयुषा चापागाईँले समान १/१ विकेट लिए । उता दोस्रो खेलमा पर्वत र स्याङ्जाले वर्षाका कारण खेल रोकिएपछि अङ्क बाडेका छन् ।
१४६ रनको विशाल लक्ष्य पाएको पर्वतले १.१ ओभरमै २ विकेट गुमाउँदै ३ रन जोडेको अवस्थामा वर्षा भएपछि खेल रोकिएको थियो । लगातार वर्षा भएपछि खेल हुन नसक्दा दुवै टिमले अङ्क बाडेका हुन् । वर्षा हुनुअघि ओपनर सुशीला भट्टराई ३ रनमा अविजित रहँदा योगिता केसी क्याचआउट भइन भने जिविका क्षेत्री शून्यमा रन आउट भइन् । स्याङ्जाका लागि निरु जिटीले १ विकेट लिइन् ।
त्यसअघि टस जितेर ब्याटिङ थालेको स्याङ्जाले २० ओभरमा ४ विकेट गुमाउँदै १४५ रन बनायो । स्याङ्जाका लागि सिमाना केसीले ३३ रनको योगदान दिइन् । उनले ३८ बलमा २ चौका प्रहार गरिन् । श्रेया शाह १९, सलिना सेन १३ रनमा आउट भइन् । ज्योत्सनिका मरासिनी २४ रनमा रिटायर्ड आउट भइन् । कुशुम गोदार ४ र निरु जिटी ४ रनमा नटआउट रहिन् ।
पवर्तका लागि दिपिका सापकोटाले २ तथा प्रतिभा खड्काले १ विकेट लिइन् ।