Harsamaya

काठमाडौं - फलफुलहरुको ‘राजा’को उपमा पाएको आँप यतिबेला नेपाली बजारमा छ्यापछ्याप्ती छ । तर विषादी मिसिएको विदेशी आँपका कारण नेपाली उत्पादन प्रभावित हुँदै आइरहेको छ ।  नेपालमा उत्पादित आँपमा बिषादीको मात्रा कम गराउनेतर्फ लाग्नुपर्नेमा व्यवसायीहरूले बताउने गरेका छन् । 

शुक्रबारदेखि काठमाडौंको लाजिम्पाटमा सुरु भएको आँप महोत्सवमा सहभागी व्यवसायीहरूले विषादीरहित आँप उत्पादनमा जोड दिएका छन् । विषादीरहित आँपको प्रर्वद्धनमा जोड दिनपनि उनीहरूको आग्रह छ । भारतबाट आयातित विषादी मिसिएको आँपका कारण विषादीरहित आँप सेवन गर्न पनि व्यवसायीहरूको आग्रह छ ।
 
‘म्याङ्गो फेष्ट २०२५’का निर्देशक भुवन केसीले नेपाली बजारमा ४० प्रतिशत आँप भारतबाट भित्रिएका विषादीयुक्त आँपको सट्टामा स्वदेशी आँप चिनेर खरिद गर्न आग्रह गरे । 

‘प्रदर्शनमा २० प्रजातिका आँप राखेका छौं । जसमध्ये सबैभन्दा महंगा जापानबाट आयात गरिएको ‘ताईयो नो टोमागो’ जातको आँप राखिएको छ । नेपालमा जतिपनि आँप छ त्यसको ४० प्रतिशत आँप भारतबाट नै आयात हुने गरेको छ । भारतीय आँपलाई हटाएर लोकल आँपको चर्चा सबैले गरिदिनुपर्छ । महोत्सवमार्फत पनि स्वदेशी आँपका विषयमा बोलिदिनुपर्छ,’ उनले भने ।  

प्रदर्शनीमा ‘ताईयो नो टोमागो’ जातको जापानी आँप पनि प्रदर्शन गरिएको छ । जसको मूल्य प्रतिकिलो ३ देखि ४ लाख रुपैयाँसम्म पर्ने उनले सुनाए । नेपालका रैथाने दशहरी, जरदा, किसानबोग, कलकतियालगायतका आँपहरु प्रवर्द्धनमा सबैले ध्यान दिनुपर्ने उनको भनाइ छ । अहिले नेपालमा १२० प्रजातिका आँपहरू पाइन्छ । नेपाली आँपमा बिषादी कम प्रयोग गरिएको हुन्छ भने भारतबाट ल्याइएको आँपमा भने धेरै विषादी प्रयोग गरिएको व्यवसायीको भनाइ छ ।

नेपालमा सुरुमा बिउ राख्दा विषादी प्रयोग गरिएतापनि आँप पकाउनका लागि भने विषादी प्रयोग नहुने उनीहरूको भनाइ छ । बजारमा धेरैजसो भारतीय आँप नै पाइने भएककाले त्यस्ता आँपलाई हटाएर लोकल आँपको चर्चा गर्नुपर्नेमा व्यवसायीहरूको जोड छ । 

एग्री नेपालकी फाउण्डर सुनिता नेम्हाफुकीले सरकारले विषादी रहित आँप उत्पादनमा किसानहरूलाई प्रोत्साहित गर्नुपर्ने बताइन् । काठमाडौंमा महोत्सव गर्नुको औचित्य भनेको श्रमिक र किसानहरूको सम्मानका लागि भएको उनले बताइन् ।  

त्यसैगरी उष्ण प्रदेशीय वागबानी केन्द्र नवलपुरका प्रमुख राम कुमार यादवले आँप पकाउन विषादी प्रयोग गर्ने गरिएकाले त्यसको अन्त्य गर्नुपर्नेमा जोड दिए । नेपालमा ७० बढी जातको आँप पाइने भएकाले सोही अनुसारको बिरुवा उत्पादन गरिरहेको जानकारी दिए ।

बागवानी केन्द्रमा १२० बिगा भन्दा बढी जग्गामा इन्डियन, पाकिस्तानी, अमेरिकनलगायत थुप्रै जातका आँपहरू पाउने गरिएकको जानकारी पनि दिए । विगतको तुलनामा यस वर्ष आँपको मूल्य बढेको अभाव सुरु भएको पनि कृषक कल्पना तिमल्सिनाका अनुसार अहिलेको रासायनिक मलको प्रयोग र भारतीय आँपका कारण मानिसको स्वास्थ्यमा असर परेकाले सचेत भएर काम गर्न सुझाए । 

नेपाली आँपहरुलाई बजारीकरण गर्ने मानिसहरू नरहेकाले यसमा ध्उान दिनुपर्ने उनको बुझाइ छ ।  उनले भनिन्,‘अहिलेको रासायनिक मलको प्रयोग र भारतीय आँपका कारण मानिसको स्वस्थ्यमा परेको असरले गर्दा नेपाली आँपहरूलाई ठाउँठाउँमा बजारीकरण गर्न आवश्यक रहेको छ ।’ उनले आँपको पकेट एरिया विकास गर्न, आँप खेतीमा किसानहरूलाई प्रोत्साहन गर्न र अर्गानिक उत्पादन बढाउनुपर्नेमा जोड दिइन् ।

सरकारी तथ्याङ्क अनुसार देशभर ४२ हजार ७ सय ७३ हेक्टर क्षेत्रफलमा आँप खेती हुन्छ । जसबाट वार्षिक पाँच लाख १३ हजार ५५ मेट्रिक टन आँप उत्पादन हुने गरेको छ । यसमध्ये मधेश प्रदेशमा मात्रै २९ हजार ९९ हेक्टर क्षेत्रफलमा आँप खेती हुने गरेको छ । जहाँबाट वार्षिक तीन लाख ९५ हजार ७९४ मेट्रिक टन आँप उत्पादन हुने गरेको छ ।

प्रकाशित मिति: शनिबार, असार १४, २०८२  ०९:००
प्रतिक्रिया दिनुहोस्
Weather Update