
काठमाडौं - हिमालयन जाभा बास्केटबल लिग (एचजेबीएल) को उपाधि टाईम्स बास्केटबल क्लबले जितेको छ । लगनखेलस्थित नेपाली सेना शारीरिक तालिम तथा खेलकुद केन्द्रमा शनिबार भएको फाइनलमा गोल्डेनगेटलाई ८०–७२ ले हराएर टाईम्स च्याम्पियन बनेको हो ।
टाईम्सले खेलको पहिलो क्वाटरमा २०–८ को अग्रता लिएको थियो । दोस्रो क्वाटरमा गोल्डेनगेटले पुनरागमन गरेको थियो । दोस्रो क्वाटर गोल्डेनगेटले १९–१४ ले आफ्नो पक्षमा पारे पनि हाफ टाइमसम्म टाईम्सले नै ३४–२७ को अग्रता बनाएको थियो ।
तेस्रो क्क्वाटर २६–२१ ले आफ्नो पक्षमा पारेपछि टाईम्सले अन्तिम क्वाटरअघि ६०–४८ को अग्रता बनाएको थियो । चौथो तथा अन्तिम क्वाटर निकै रोमाञ्चक बन्यो । चौथो क्वाटरमा गोल्डेनगेटले फेरि पुनरागमन गर्दै २४–२० ले आफ्नो पक्षमा पारेको थियो । तर टाईम्सलाई रोक्न सकेन र टाईम्स ८ अंक अन्तरले च्याम्पियन बन्यो ।
यसअघि लिग चरणमा पहिलो खेलमै टाईम्सले गोल्डेनगेटलाई पराजित गरेको थियो भने त्यसपछि दोस्रो चरणमा गोल्डेनगेटले टाईम्सलाई हराएर बदला लिएको थियो ।