
काठमाडौं - नेपाल क्रिकेट संघ क्यानले मलेसियामा हुन लागेको एसीसी मेन्स यू–१६ इस्ट जोन कपका लागि नेपाली टोलीको आज बिदाइ गरेको छ । आगामी आइतबारबाट सुरु हुने खेलमा सहभागी हुन विपिन प्रसाद शर्माको कप्तानीमा १४ सदस्यीय नेपाली टोलीलाई बिदाइ गरेको हो ।
नेपाल यु–१६ पुरुष क्रिकेट टोलीको बिदाइ कार्यक्रममा बोल्दै नेपाल क्रिकेट संघ क्यानका कोषाध्यक्ष पदम बहादुर खड्काले बिदाइ भएको टीमसँग नेपाली क्रिकेटको भविष्य रहेको भन्दै यसले उत्कृष्ट प्रर्दशन गर्ने बताए ।
उनले भने,‘नेपाली यु–१६ पुरुष तर्फको टीम कोच र टीम म्यानेजरसँग समन्वय गरेर, अनुशासित भएर आफ्नो देश र माटोलाई सम्झेर उत्कृष्ट प्रर्दशन गर्नेछन् भन्ने विश्वासमा छु । अन्डर १६ टिम नेपालली क्रिकेटको भविष्य हो । नेपाली क्रिकेटलाई लामो समयसम्म नेतृत्व गर्ने हिसाबले प्रदर्शन गर्नेछन् भन्ने आशा छ ।’
यसैगरी कोच दिपेन्द्र बहादुर चन्दले उत्कृष्ट प्रर्दशन गर्ने टिम रहेकाले विगतमा झै जित हासिल गर्ने बताए ।
नेपाली यु–१६ टोली
विपिनप्रसाद शर्मा(कप्तान), सुर्याशुं कोइराला(उपकप्तान), परिमार्जन यादव, शिवान्श बजगाईं, रौनक श्रीवास्तव, अभय यादव, सचिन भट्ट, सुगम बुढाथोकी, सुयोग भट्टराई, सुशिल रावल, शुभम खनाल, प्रसिद्ध जैशी, जोय थापा र रोशन शाही ।