काठमाडौं - महानगर यातायात प्रा.लि. को नाम, रंग र डिजाइनसमेत नक्कल गरी सोही आकार प्रकारको बस यात्रु झुक्याउने गरि सोही रुटमा चलेको भन्दै सक्कली महानगर यातायात प्रा.लि ले आपत्ति जनाएको छ ।
बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महानगर यातायात प्रा.लि.ले आपत्ति जनाएको हो । प्रा.लि.ले जारी गरेको विज्ञप्तिमा हाल प्रा.लिकै नाममा रंगरोगन गर्दै बसले यात्रु झुक्याउने र नक्कली महानगर यातायातले पैदल यात्रीलाई ठक्कर दिएर भागेपछि पीडितहरूले प्रहरीमा खबर गरि महानगर यातायातको कार्यालय पुग्ने गरेको उल्लेख छ ।
यात्रु झुक्याउने गरी एउटै नाम र रंगका बस सोही रुटमा चलिरहँदा सञ्चालकले मात्रै होइन यात्रुहरूलेसमेत विविध समस्या झेलिरहेको प्रा.लि.को भनाई छ । यसबारे पटक पटक सम्बन्धित निकायहरूको ध्यानाकर्षण गराउँदा पनि कुनै कारवाही नभएको र यस्तो अवस्थामा महानगर यातायात प्रालिले अनावश्यक झन्झट व्यहोर्नुका साथै कयौं पटक त केही बसहरूको नियमित सेवा समेत रोकिने गरेको उनीहरूको भनाई छ ।
यसबापत यात्रुहरूले पाएको दुख र कम्पनीलाई भएको आर्थिक घाटाको त कुनै लेखाजोखा नरहेको महानगरका यातायात व्यवसायीहरूको भनाई छ । अनुसन्धानपछि यथार्थ पत्ता लाग्दापनि दुर्घटना गराउने गाडी चिन्न नसक्दा पीडितले न्याय पाउन नसकेको महानगर यातायातको गुनासो रहेको छ । यसबारे बारम्बार प्रहरी प्रशासन, यातायात कार्यालय, यातायात विभाग लगायतका निकायमा निवेदन दिँदापनि समस्या समाधानको लागि कुनै पहल नगरेको महानगर यातायातको भनाई छ ।

