Harsamaya
आईसीसी क्रिकेट विश्वकप लिग २मा नेदरल्याण्ड्सविरुद्ध नेपालको शानदार जित

काठमाडौं - आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गतको खेलमा नेपालले नेदरल्याण्ड्सलाई १६ रनले हराउँदै जित हासिल गरेको छ । टस हारेर पहिलो ब्याटिङ गरेको नेपालले ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ३६ रन बनायो । नेपालले दिएको २३७ रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले ४९.२ ओभरमा अलआउट हुँदै २२० रन मात्र बनायो । वेस्ले बारेसीले सर्वाधिक ३६ रन बनाए भने कप्तान स्कट एडवार्ड्सले ३० र माइकल लेभिटले २७ रन बनाए । काइल क्लेइनले २५ र नोआ क्रोएसले २२ रनको योगदान दिए ।

नेपालका लागि सन्दीप लामिछानेले १० ओभरमा ३९ रन दिएर ३ विकेट लिए । नन्दन यादवले ९ ओभरमा ३९ रन दिएर ३ विकेट लिए । ललित राजवंशीले २ तथा करण केसी र कुशल भुर्तेलले १-१ विकेट हात पारे । आरिफले सर्वाधिक ८४ रन बनाए । ८५ बल खेलेका उनले ७ चौका र २ छक्का प्रहार गरे । उनी अन्तिम ओभरको तेस्रो बलमा बोल्ड आउट भएका थिए ।

त्यस्तै भीम सार्की र कप्तान रोहित पौडेलले समान ३५ रन बनाए । कुशल भुर्तेलले १८ तथा दिपेन्द्रसिंह ऐरीले १६ रन बनाए ।

नेदरल्याण्ड्सका लागि पल भान मिकेरनले १० ओभरमा ५८ रन दिएर ४ विकेट लिए । माइकल लेभिटले ३ तथा आर्यन दत्तले १ विकेट लिए ।

नेपालले यो जीतसँगै यस शृंखलाको ४ मध्ये ३ खेलमा जित निकालेको छ । योसँगै लिग २ शृङ्खलामा नेपालको १६ खेलबाट १२ अंक भएको छ र सातौँ स्थानमा छ । नेदरल्याण्ड्सको २३ खेलमा २६ अंक छ ।

 

प्रकाशित मिति: बुधबार, जेठ २८, २०८२  ०६:३७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update