
सुर्खेत - सुर्खेतको वीरेन्द्रनगरमा जारी टी.बी स्मृति राष्ट्रिय क्रिकेट प्रतियोगिताको छैटौँ दिन गण्डकीले कोशी सामु १ सय ७१ रनको फराकिलो हारको सामना गर्नुपरेको छ ।
प्रतियोगिताकै सबैभन्दा कमजोर मानिएको गण्डकीका बलरहरूले शनिबार कालुंगचोक मैदानमा भएको खेलमा गरेको कमजोरीको सहज फाइदा उठाउँदै कोशीका ब्याटरहरूले २ सय ५६ रनको योगफल खडा गरे । पूरा ५० ओभर खेलेको कोशीले ९ विकेटको नोक्सानीमा २ सय ५७ को लक्ष्य खडा गर्दा गण्डकीका बलरहरूले नियन्त्रण गुमाउँदाको परिणामस्वरूप कोशीको स्कोरबोर्डमा ५० अतिरिक्त रन जोडिन पुग्यो ।
टस जितेर पहिला ब्यांटिग थालेको कोशीका लागि सुगम बुढाथोकीले ७५ बल खेल्दै नकआउट सर्वाधिक ६८ रनको योगदान दिँदा रविन मण्डलले समान ३९ रन जोडे भने सकुशल श्रेष्ठले ३० रन बनाए । ३ दशमलव ६ को औसतमा अरूभन्दा किफायती साबित भएका गण्डकीका सुशील भुसाललेआफ्नो जिम्माको १० ओभर बलिङ गर्दा ३ मेडन र ४६ डट फाल्दै ३६रन दिएर ४ विकेट लिए ।
यस्तै रिदम पाण्डे र अनीश राउतले समान दुई दुई विकेट लिए । ब्याटिङमा ४ चौका र एक छक्कासहित ३९ रन तथा बलिङमा ७ ओभर ४ बल बलिङ गर्दै ४ मेडन ४६डट खेलेर ५ विकेट लिएका कोशीका रविन मण्डल प्लेयर अफ दि म्याच बने ।
२ सय ५७ रनको मध्यम लक्ष्य पाए पनि बलिंगमाझैं ब्यांटिगमा पनि फितलो प्रदर्शन गरेको गण्डकीका लागि विनय कार्कीले १६, भुवन भट्टराईले १४ र सुप्रिम सुनारले नकआउट १२ रनबाहेक अरूले दोहोरो अंक जोड्न सकेनन् ।
फलस्वरूप जम्मा २२ ओभर ४ बलमा ८५ रन मात्र जोडेर गण्डकी अलआउट हुनपुग्यो ।
अहिलेसम्म खेलेका ४ मध्ये ३ खेलमा जीतसहित ६अंक जोडेको कोशी अंकतालिकाको पहिलो नम्बरमा उक्लिएको छ भने सुरुदेखि नै पुछारमा रहेको गण्डकी तेस्रो खेलसम्म अंकविहीन पुछारमै रहेको छ ।