
काठमाडौं - पूर्व अर्थमन्त्री तथा नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले वित्त नीति र मौद्रिक नीति एक अर्कामा परिपुरक रहने बताएका छन् ।
नेपाल राष्ट्रिय कर्मचारी संगठनको चौथो केन्द्रीय परिषद् बैठक बुधबार उद्घाटन गर्दै पुनले वित्त नीति र मौद्रिक नीति एक अर्कामा परिपुरक रहने भएकोले समन्वय र सहकार्यले मात्र समग्र वित्तीय प्रणलीलाई सबल र सक्षम बनाउन सकिने बताएका हुन् ।
उनले हालको नेपाल सरकारको वित्त नीति रुपान्तरणकारी नभएको सन्दर्भमा जनतामा आशा जगाउने किसिमको मौद्रिक नीति तर्जुमा गर्न सुझाव दिए । साथै यूनियन र व्यवस्थापनको सहकार्यबाट नै बैंकको लक्षित उद्देश्य हासिल गर्न सहयोग पुग्ने धारण राखे ।
नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले बैंकमा क्रियाशिल यूनियनहरुले आम कर्मचारीको भावना र मर्का व्यवस्थापन समक्ष प्रस्तुत गर्नु पर्ने बताएका छन् । उनले बैंक व्यवस्थापनले युनियनका रचनात्मक सुझावहरूको सकारात्मक रूपमा सम्बोधन गर्ने प्रतिबद्धता जनाए । उद्घाटन समारोह संगठनका अध्यक्ष कृष्ण केसीको अध्यक्षतामा भएको हो ।
कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नरहरु, नेपाल राष्ट्रिय कर्मचारी महासंघ नेपाल, राष्ट्रिय कर्मचारी संघ राष्ट्रिय समिति, नेपाल राष्ट्र बैंक कर्मचारी संघ र नेपाल वित्तीय संस्था कर्मचारी संघका अध्यक्षहरू तथा नेपाल राष्ट्रिय कर्मचारी संगठनका पूर्व अध्यक्षहरूको सहभागिता रहेको थियो ।
यसै गरी नेपाल राष्ट्रिय कर्मचारी महासंघ नेपालका अध्यक्ष मणीरत्न श्रेष्ठ, नेपाल वित्तीय संस्था कर्मचारी संघका अध्यक्ष हरिकृष्ण भट्टराई, नेपाल राष्ट्र बैंक कर्मचारी संघका अध्यक्ष रामहरि घिमिरेले शुभकामना मन्तव्य राखेका थिए । साथै उक्त कार्यक्रममा विभिन्न बैंक तथा वित्तीय संस्थाका यूनियनका प्रतिनिधिहरू तथा नेपाल राष्ट्र बैंकका सम्पूर्ण कर्मचारीहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा संगठनको उपाध्यक्ष गीता खतिवडाले उपस्थित अतिथिहरूलाई स्वागत गरेकी थिइन् भने संगठनका सचिव हरि प्रसाद अर्यालले कार्यक्रम सञ्चालन गरेका थिए ।