Harsamaya
नवौँ एनभिए लिग : पुलिसको ह्याट्रिक जित, न्यु डायमण्ड पराजित
नवौँ एनभिए लिगमा पुलिसको ह्याट्रिक जित, न्यु डायमण्ड पराजित ।

पोखरा - महिलातर्फ नवौँ पिएम कप एनभीए लिगको उपाधि नेपाल पुलिस क्लबले जित्दै लगातार तेस्रो पटक च्याम्पियन बन्न सफल भएको छ । फाइनल खेलमा पुलिसले टिप टप न्यु डायमण्ड युथ स्पोट्र्स एकेडेमीलाई ३-१ को सेटमा पराजित गर्दै उपाधिमा ह्याट्रिक पूरा गर्‍यो। दुवै टोली अब नेपालमै आयोजना हुने काभा महिला क्लब च्याम्पियनसिपका लागि छनोट भएका छन् ।

सुरुवातदेखि नै उत्कृष्ट लयमा देखिएको पुलिसले पहिलो सेट २५-२० को स्कोरमा जित्दै बलियो सुरुवात गर्‍यो तर दोस्रो सेटमा न्यु डायमण्डले पुनरागमन गर्दै २५-२२ को स्कोरमा सेट आफ्नो पक्षमा पार्न सफल भयो । तेस्रो सेट निकै रोमाञ्चक रह्यो । कडा प्रतिस्पर्धाबिच पुलिसले २८-२६ को नतिजा निकाल्दै फेरि अग्रता लियो। त्यसपछि चौथो सेटमा पुलिसले पूरै नियन्त्रण जमाउँदै २५-१४ को सहज जित निकाल्दै उपाधि सुनिश्चित गर्‍यो । लिग चरणमै पनि पुलिसले न्यु डायमण्डलाई ३-० ले हराएको थियो। फाइनल पुग्ने क्रममा पुलिस लिगको शीर्ष स्थानमा रहँदा न्यु डायमण्ड दोस्रो स्थानमा थियो।

पुरुष र महिलातर्फका विजेता टोली हेल्प नेपाल र नेपाल पुलिसले समान ८ लाख रुपैयाँ प्राप्त गरे। उपविजेता बनेका गण्डकी प्रदेश (पुरुष) र न्यु डायमण्ड (महिला) ले समान ४ लाख हात पार्‍यो। तेस्रो स्थानमा रहने पुरुषतर्फको पुलिस र महिलातर्फको एभरेस्ट क्लबले २ लाख रुपैयाँ प्राप्त गरे। नेपाल भलिबल संघको आयोजनामा जेठ ८ गतेदेखि सुरु भएको यो लिगमा महिलातर्फ ६ र पुरुषतर्फ ८ टोलीको सहभागिता रहेको थियो।

प्रकाशित मिति: शुक्रबार, जेठ १६, २०८२  ०९:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update