Harsamaya

काठमाडौं - नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले गणतन्त्र केही मुठ्ठीभरका विचौलियाका निम्ति मात्रै भएको बताएका छन् ।

गणतन्त्र दिवसको अवसरमा नेकपा एकीकृत समाजवादीले बिहीबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले अहिले देशको गणतन्त्र आम जनताको लागि नभइ शोषकहरूको गणतन्त्र बनिरहेको बताएका हुन् ।

उनले भने, ‘यो गणतन्त्र केही मुठ्ठी भरका विचौलियाको निम्ति थिएन । यो गणतन्त्र मुठ्ठीभरका दलाल पुँजीपति वर्गको निम्ति मात्रै स्थापना गरिएको होइन । यो गणतन्त्र विभिन्न किसिमका भ्रष्ट तत्वहरूको हितका निम्ती स्थापित गरिएको थिएन । अहिले देशको गणतन्त्र आम जनताको लागि छैन । अहिले  मुठ्ठीवादी दलाल पुँजीपतिको लागि मात्रै गणतन्त्र बनिराखेको छ । देशका शोषकहरूको गणतन्त्र बनिरहेको छ । जनताको गणतन्त्र बन्न सकिरहेको छैन ।’

साथै उनले भिजिट भिसा प्रकरणमा धेरैको योजनासाथ धन्दा चलिरहेको बताए ।  उनले एउटालाई मात्र बलिको बोको बनाएर अन्यलाई चोख्याउन खोजेको आरोप लगाए । 

उनले भने, ‘अहिले  एयरपोर्टको धन्दा कस्ता कस्ता हुने रहेछन् तपाइँहरूले देखिराख्नुभएको छ । धेरैको योजनाका साथमा धन्दा चलिरहेको छ । एउटालाई बलिको बोको बनाएर अरू चोखिन खोज्दै छन् ।’

खनालले अहिलेको गठबन्धन सरकार संविधान विरोधी भएकाले गणतन्त्र सुदृढ गर्न नसक्ने जिकिर गरे ।

प्रकाशित मिति: बिहीबार, जेठ १५, २०८२  १४:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update