Harsamaya
मेलम्ची-१२ ले पायो नयाँ प्रशासकीय भवन 
मेलम्ची नगरपालिका वडा नं. १२ स्थित बाहुनेपाटीमा निर्माण सम्पन्न भएको तीन तले आधुनिक भूकम्प प्रतिरोधी प्रशासकीय भवन ।

सिन्धुपाल्चोक - मेलम्ची नगरपालिका वडा नं. १२ स्थित बाहुनेपाटीमा निर्माण सम्पन्न भएको तीन तले आधुनिक भूकम्प प्रतिरोधी प्रशासकीय भवनको एक भव्य समारोहबीच आज उद्घाटन गरिएको छ। नगरप्रमुख आइतमान तामाङले उक्त भवनको औपचारिक रूपमा उद्घाटन गरेका हुन् ।

नगरपालिकाको आन्तरिक स्रोतबाट निर्माण गरिएको यो भवन सेवाग्राहीमैत्री बनाइएको नगरप्रमुख तामाङले जानकारी दिए । उनले उक्त संरचनाले स्थानीयवासीलाई छरितो, सहज र प्रभावकारी सेवा प्रदान गर्न मद्दत पुर्‍याउने विश्वास व्यक्त गरे। साथै, स्थानीय तहको पूर्वाधार विकासमा यो भवनले महत्वपूर्ण योगदान पुर्‍याउने उल्लेख गर्दै उनले आगामी दिनमा सेवा प्रवाहमा अझ गुणस्तरीयता ल्याउने प्रतिबद्धता व्यक्त गरे।

४ करोड ६२ लाख रुपैयाँको बजेट सुनिश्चित गरिए पनि भवन निर्माण कार्य २ करोड ९७ लाख रुपैयाँमा सम्पन्न भएको वडा अध्यक्ष गणेशबहादुर तामाङले जानकारी दिए । 

कार्यक्रममा उपप्रमुख उमा प्रधान, प्रमुख प्रशासकीय अधिकृत निमेष मिश्र, कार्यपालिका सदस्य, वडा प्रतिनिधिहरू, स्थानीय बुद्धिजीवी, समाजसेवी, विभिन्न राजनीतिक दलका प्रतिनिधि, शिक्षक तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

प्रकाशित मिति: बुधबार, जेठ ७, २०८२  २०:१५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update